फेरि लेखौंः नमेटिने मसीले लेखिएको गैंडाको सुन्य चोरीशिकार बर्ष
शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

रमेश कुमार थापा 

आजकल मन अलिकता अस्थिर र अशान्त बनेको छ । बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण समाज आक्रान्त छ । मानिसहरुमा भय, त्रास, डर, चिन्ता,निराशा ब्यापत छ । आफैले आफुलाइ अबिश्वास र संका गर्नुपर्ने अवस्था छ

सामान्य टाउको दुख्दा, खोकी लाग्दा, हाच्छ्यु हुँदा, घाँटी खसखस हुँदा आँफैसंग डर लाग्ने गरेको छ । छिमेकी, साथीभाई, आफन्तजनसंग पनि टाढिएर हिड्नु पर्ने, बाटोमा जम्काभेट हुँदा पनि आँखा जुधाएर बोल्ने साहस नआउने र संका आसंकाको नजरले हेर्नुपर्ने अचम्मको दिनचर्याबाट गुज्रिदै गर्दाको मानसिक थकानका बिच समय ब्यतित हुने गरेको छ ।

लामो समय संरक्षण यात्रामा विचरण गरेको मन घरको बन्द कोठामा अटाउन सकेको छैन । यो मन दौडिएर क्षणभरमै चितवन, बर्दियातिरका नदितटीय घाँसेमैदान, साल वन र मानव बस्ति आसपास बिचरण गर्ने वन्यजन्तु अनि ती वन्यजन्तु संरक्षणमा अहोरात्र खटिएका संरक्षणकर्मी, वन्यजन्तुका कारण पीडित बन्न पुगेका स्थानीय समुदायसंग भलाकुसारी गर्न पुग्दछ ।

अनेकौं कल्पनाका छालहरुसंग खेल्दै संरक्षणमा सफलताका सिंढी चढेपछि मात्र मनमा शान्ती प्राप्त हुन्छ र मन आनन्दित हुन्छ । सामाजिक संजालमा भेटिने संरक्षण सम्बन्धी गतिबिधि र कृयाकलाप देख्दा मनमा खुसीका तरङ्गहरु दौडिन थाल्दछन ।

करिब चौतीस बर्षको प्रकृति संरक्षण यात्रामा धेरै उकालि ओराली गरियो । कतिपय कुरा पढेर, सिकेर, कतिपय, हेरेर, देखेर, सुनेर अनि कतिपय आफ्नै प्रवर्तनमा पनि जग बसाल्ने काम गरियो सफलतामा खुसी हुँदै बिफलताबाट पाठ सिकेर सफलताको बाटो तय गर्ने अभियानमा लागियो ।

संरक्षणका मार्गदर्शक अग्रज संरक्षणकर्मीहरु जसले खुट्टाका पैताला र पिठ्युको छाला खियाएर संरक्षित क्षेत्रहरु स्थापना गर्नुभयो वहाँहरुकै प्रेरणाले अनेकौं प्रतिकुलताहरुसंग मुकाबिला गरेर अगाडी बढ्ने हौशला प्राप्त भयो ।

यो यात्रामा कति सहकर्मीहरुलाई चोरीशिकारी र तस्करले हत्या गरे, कति सहकर्मीहरु प्राकृतिक प्रकोपमा परेर दिबंगत भए, कति सहकर्मीहरु वन्यजन्तुकै आक्रमणमा परेर जीवन गुमाउन पुगे त्यसको यकिन तथ्याङ्क कहिं अध्यावधिक सम्म पनि देखिंदैन ।

यति मात्र नभएर कतिपय अग्रज तथा सहकर्मीहरुलाई राजनीतिक प्रतिशोध र माथिल्लो निकायको बक्रदृष्टिमा पारेर जागिरबाट बिमुख हुन बाध्य पारियो । तर पनि संरक्षणको गति रोकिएन, निरन्तर अगाडी बढि रह्यो ।

प्रकृति माताको अनुकम्पाबाट प्राप्त सबै प्राणीहरुको जीवन चक्र अनन्त कालसम्म निरन्तर चलिरहोस भन्नका लागि वन, वन्यजन्तु र जैविक विविधता संरक्षण जरुरी छ । यसकै लागि संरक्षित क्षेत्रहरुको स्थापना, बिकास र संचालन हुँदै आएको छ ।

बिडम्बना के छ भने संसारकै बिकशित प्राणीको दर्जा पाएको मानिसको काम, ब्यवहार र गतिबिधिबाट संरक्षण कार्यमा बाधा, अबरोध उत्पन्न गर्ने र बिनास गर्ने काम भएबाट धेरै ठूलो क्षति हुन गएको छ । यस्ता क्षति नियन्त्रणका लागि राज्यले बनाएको कानूनको पालना गराउने शिलसिलामा संरक्षणकर्मीले समेत ठूलो शारिरीक र मानसिक क्षति ब्यहोर्नु परेका तिता सत्यहरुले हाम्रो मानसपटलमा डेरा जमाएर बसेका छन ।

चोरीशिकारी, तस्कर, अपराधिहरुको संरक्षण र पृष्ठपोषण गर्दै संरक्षणकर्मी उपर सांघातिक आक्रमण मात्र होइन झुठ्ठा मुद्दा लगाइ जेलको कालकोठरीमा कोच्ने प्रपञ्च समेत भए ।

चितवन राष्ट्रिय निकुञ्जको एउटा घटनामा तत्कालिन प्रमुख संरक्षण अधिकृत टीकाराम अधिकारी, सहायक संरक्षण अधिकृत कमल जङ्ग कुँवर, रेञ्जर रितेश बस्नेत लगायतका कर्मचारीले काराबासको सजाय भोगेको पीडा हामीले कहिल्यै पनि बिर्सन सक्दैनौं ।

वहाँहरुले ब्यक्तिगत स्वार्थका लागि चोरी, डकैति,लुटपाट र घुसखोरी गरेको त होइन । तर पनि संरक्षण बिरोधि तत्व वहाँहरुलाइ जेलमा सडाउनका लागि निरन्तर लागि रह्यो ।

आफ्नो कुनै आवाज र प्रतिकृया ब्यक्त गर्न नसक्ने वन्यजन्तुको आवाज बोले बापत, वन्यजन्तुलाइ गोली हान्ने, पासोमा फसाएर, बिष प्रयोग गरेर, गला रेटेर हत्या गर्ने नरपिसाचहरुले संरक्षणकर्मी उपर नै धावा बोल्दै अनेकौं अपराध गर्दै आएका छन ।

चोरीशिकारी र तस्करहरुको षडयन्त्र र संजाललाइ तहस नहस बनाउदै अपराधिलाइ दण्ड सजायको दायरामा कैद गर्न सफल भएपछि मात्र नेपालमा वन्यजन्तु संरक्षणमा सन्तोषको स्वाश फेर्ने दिन आएको हो ।

संरक्षित क्षेत्रका निजामति कर्मचारी र नेपाली सेनाको पसिनाले धर्ति शिंचाई गर्दै स्थानीय समुदाय, जनप्रतिनिधि, प्रहरी प्रशासन, समुदायमा आधारित चोरीशिकार नियन्त्रण इकाई, संचारकर्मी, पर्यटन ब्यवशायी, संरक्षणका साझेदार सहयोगि संघ सस्थाको एकीकृत प्रयासमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको साथ र सहयोग पछि नेपालले संरक्षणको इतिहासमा सफलताको किर्तिमान कायम गर्दै पटक पटक सून्य चोरीशिकार बर्ष मनाउन सफल भएको कुराको साक्षी हामी नै छौं ।

हुनत ब्यक्तिगत रुपमा मलाई काठमाण्डौमा हुने गरेका कार्यक्रमहरु चाहे Zero poaching symposium होस, चाहे, Zero poaching year होस चाहे वन्यजन्तु अपराध नियन्त्रण इकाईको राष्ट्रिय गोष्ठीमा होस सहभागि गराईएको थिएन ।

मैले साथिहरुले प्रयोग गरेका कार्यक्रसंग सम्बन्धित जकेट, टी सर्ट देखेर अनि समाचार पढेर यस्ता कार्यक्रमका बारेमा जानकारी पाउने गर्दथें । मलाइ किन सहभागि गराइएन भनेर सोधखोज गर्ने कुरा पनि भएन ।

अचम्मको कुरा के लाग्थ्यो भने धेरै पछि बिभागका आधिकारीक ब्यक्तिहरु नै कार्यक्रममा किन आउनु भएन भनेर प्रश्न गर्दथे । नबोलाइकन कसरी आउने ? भन्ने जवाफ सुनेपछि ओहो ! तपाइलाई बोलाइएको थिएन र ? भन्ने गर्दथे । मलाइ अचम्म लाग्दथ्यो बिभागले आयोजना गरेको भनिएका कार्यक्रममा कसलाई सहभागि गराउने र कसलाई नगराउने भन्ने निर्णय गर्ने निकाय अर्को कुन रहेछ भनेर ।

बिगतमा वन्यजन्तु संरक्षण र चोरीशिकार नियन्त्रणको क्षेत्रमा जे जति काम भए ति ऐतिहासिक काम भएका छन । तर हालको पुस्ता र ऐले माथिल्लो तहमा पदासिन नीतिनिर्माताहरुका लागि यो बिषय गौण बन्न सक्छ ।

चोरीशिकारीको कृडास्थल बनेको चितवन राष्ट्रिय निकुञ्जमा कमल जङ्ग कुँवर चिफ वार्डेन भएको बेला म बर्दियाबाट चितवन सरुवा भएर गएको हुँ । मलाई सौराहा सेक्टरमा खटाइएको थियो । त्यतिबेला निकुञ्जको टीम अति मजबुत र सक्रिय थियो ।

कमल जङ्ग कुँवर आफै गस्तिमा खटिने,सहायक संरक्षण अधिकृत रुपक महर्जन, बिष्णु थपलिया, टीकाराम पौडेल, बेद बहादुर खड्का, बुध्दिराज पाठक अनि रेञ्जर लक्ष्मण राय र जुझारु गेमस्काउटका साथै सवारी चालकहरु समेत अहोरात्र खटेका हुन्थे ।

त्यतिबेला निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको गणपति प्रमुख सेनानी चक्र बहादुर शाह हुनुहुन्थ्यो । वहाँप्रति मेरो अटल सम्मान छ । वहाँले रात दिन, झरी बादल, घाम पानी नभनीकन अहोरात्र खटेर आफ्नो फौज गस्तमा परिचालन गर्नु भएको थियो ।

वहाँ हात खुट्टा र अनुहारमा काँढाले कोरेका घाउहरु अनि हिलो,मैलो कपडा सहितको अवस्थामा भेटिनुहुन्थ्यो । तर पनि वहाँमा कुनै पनि बेला थकान देखिंदैनथ्यो ।

चितवनमा सुराकीको संजाल गज्जब भरपर्दो, बिश्वासनिय र जिम्मेवार बनाइएको थियो त्यतिबेला । केहि घट्नाको सुइको पाउनासाथ सुराकिले सूचना दिने गर्दथे ।

एकपटक राती सुराकीले निकुञ्जको भित्री भागमा ठूलो बत्तीको प्रकाश देखिएको सूचना गरे । सौराहामा नेपाली सेनाको मेजर निरज महरा हुनुहुन्थ्यो । मैले वहाँलाई खबर गरें । मेजर निरज महरा तुरुन्तै आफ्नो फौज सहित निस्किनु भयो । ठूलो पानी परिरहेको थियो ।

आफैले डुंगा तारेर हामी राप्ति नदी पार गरी जंगल भित्र छिर्यौं । हामीलाइ सुराकीले पटक पटक फोन गरेर बत्तीको प्रकाशको बारेमा सूचना दिइरहेका थिए । जंगल भित्र ठूलो उज्यालोको प्रकाश देखिएको सूचनाका आधारमा हामी गस्तिमा निस्किएको जानकारी हामीले हेडक्वार्टरमा गराइसकेका थियौं ।

तर गणपतिज्यूको फोन लागेको थिएन । करिब डेढ घण्टा हिंडेपछि हाम्रो गणपतिज्यूसंग सम्पर्क भयो । हाम्रो सुराकीले दिएको सूचना अनुसारको ठूलो बत्तीको प्रकाश गणपतिज्यूको टोली जंगलमा अल्मलिएर बालेको रहेछ ।

हामी भेट हुँदा गणपतिको टोली भरखर धान खेत रोपाइ गरेर फर्के जस्तो हालतमा थियो । समयमा नै सम्पर्क भएकोले कुनै अप्रिय घटना हुन पाएन । हाम्रो संचार सम्पर्क नभएको भए आपसमै हानाहान हुनसक्ने खतरा पनि रहन्थ्यो । सानो भलाकुसारी पछि हामी छुट्टीएर आ-आफ्नो बाटो लाग्यौं ।

हामी फर्किने क्रममा बिहान करिब तीन बजे अर्को सुराकीको फोन आयो । राप्ती नदीमा धेरै मानिसहरु माछा मार्न पसेको सूचना थियो । हामीले फोन गरेर गाडी तयारी हालतमा राख्न लगायौं । तुरुन्तै गाडी सहित गएर माछा मार्ने टोली समात्यौं ।

टाँडी,पर्सा, भण्डारा लगायतका बजारमा सानो तिनो ब्यवशाय गरेर बस्ने भारतिय मुलका मानिसहरुले राती राप्ती नदीमा माछा मारेर रातारात मलेखु पठाउने काम गर्दा रहेछन । हामीले मलेखुमा पाइने माछा पोखरीको माछा हो भन्ने गर्दथ्यौं तर राप्तीको माछा पनि मलेखुमा पुर्याउने गिरोह रहेछ भन्ने खुलासा भयो ।

यसपछि केहि समय राप्ती नदीमा माछा चोर्ने क्रम रोकिन पुगेको थियो । त्यतिबेला फरार अपराधि देखि निकुञ्जमा हुने सबै खाले अपराधका सूचना तुरुन्त प्राप्त हुने गर्दथ्यो । यसरी सूचना प्राप्त हुनासाथ अपराधि पक्राउ गर्न जाने टोलीलाइ स्थानीय CBAPU र उपभोक्ता समूह, समितिको सहयोग प्राप्त हुने गर्दथ्यो ।

म चितवनबाट काजमा बिभाग र त्यसपछि बर्दिया सरुवा भएँ । चितवनबाट कमलजङ्ग कुँवर, बिष्णु थपलिया, रुपक महर्जन पनि सरुवा हुनुभयो । बुद्दिराज पाठक र टीकाराम अधिकारी सेवा निबृत्त हुनुभयो । त्यसपछि चितवनमा चोरीशिकार सम्बन्धी सूचना र जानकारीहरु बाहिर आएका थिएनन ।

बाढीले बगाएर भारत पुर्याएका गैंडा समेत फिर्ता गरेर चितवन ल्याएन सफल भएपछि सबैमा एक किसिमको उत्साह जागेको थियो ।

तर यसबर्ष भदौ महिनामा चितवन राष्ट्रिय निकुञ्जले चोरीशिकारीबाट गैंडालाई गोली हानेर मारेको दुःखद जानकारी सार्वजनिक गर्यो । हालै निकुञ्जले गरेको गस्ति र स्वीपिङ्ग अपरेसनका क्रममा पुनः अर्को गैंडाको माउ बच्चा मारी खाग समेत काटी लगेको भन्ने जानकारी प्राप्त भएको छ । वास्तवमा यो अति नै दुःखद र चुनौतिपूर्ण घटना हो ।

चितवन राष्ट्रिय निकुञ्जमा बिगतको तुलनामा कर्मचारीको संख्या पनि थप भएको छ । नेपाली सेनाको संख्यामा कुनै कमि भएको छैन । बिगतको भन्दा बजेट र स्रोत साधन परिचालनको अवस्था पनि सुदृढ नै छ । तर पनि गैंडा मारिनु साच्चै चिन्ताको बिषय हो । यसमा अवश्य पनि केहि न केहि कमि कमजोरी भएको छ । कहाँ नेर के कस्तो कमि कम्जोरी भएको छ त्यसको पहिचान गरी तत्काल निदान गर्न जरुरी छ ।

बिगतको बिकराल अवस्थासंग तुलना गर्ने हो भने ऐले एक दुइवटा गैंडा मारिनु सामान्य कुरा हुनसक्छ । तर हिजोको सुन्य चोरीशिकार बर्षलाई फर्केर हेर्ने हो भने यो भयंकर डरलाग्दो घटनाको शुरुवात हो भन्न सकिन्छ । किनभने जतिबेला सून्य चोरीशिकार बर्ष मनाईएको थियो त्यतिबेला कानूनको दायरामा खुम्चिएका अधिकांस अपराधिहरु ऐले कैदमुक्त भेसकेका छन ।

अपराधिहरु कारागारमा रहँदा संगठित हुने, योजना र रणनीति बनाउने, अपराधिक संजाल बिस्तार गरी सहकार्य गर्ने वातावरण सृजना भएको हुँदा अबका दिनहरु निकै चुनौतिपूर्ण हुनसक्छन ।

ऐलेको अवस्थामा निकुञ्ज कार्यालयको सामान्य र नियमित कार्यशैलीबाट गैंडाको चोरीशिकार नियन्त्रण गर्न सहज देखिंदैन । अधिकांस कर्मचारी नया छन । उनीहरुमा चोरीशिकार नियन्त्रण सम्बन्धि ब्यवहारीक ज्ञान शिपको पनि कमि छ ।

अधिकृत र रेञ्जरमा आएका कर्चारीहरुले उच्च शिक्षा अध्ययनलाई आफ्नो प्राथमिकतामा राखेको पाइन्छ भने अधिकांस सिनियर गेमस्काउट र गेमस्काउटहरुले माथिल्लो पदका लागि तयारी गर्दै प्लेटफर्मको रुपमा प्रयोग गर्न खोजेको देखिन्छ ।

कर्मचारीहरुमा संरक्षणप्रति प्रतिबध्दता र समर्पणभावको कमि देखिन्छ । बिगतको सुराकी संजाल तहसनहस भएको र CBAPU पुरै अलगथलग बनाइएको अवस्था छ । बिगतको तुलनामा नेपाली सेनाको पनि संरक्षणमास सक्रियता, जागरुकता, सृजनशिलता र समर्पणभाव खस्किंदै गएको आभास हुन थालेको छ ।

लङ्गरेञ्ज गस्ति, स्वीपिङ्ग, क्याम्पिङ्ग र एम्बुसिङ्गको उपलब्धि र प्रभावकारीता घट्दै गएको देखिन्छ । किन यस्तो हुन गयो भन्ने तर्फ समयमै ध्यान पुगेको देखिंदैन । वास्तवमा यसो हुनुमा माथिल्लो निकाय नै जिम्मेवार छ । किनभने माथिल्लो निकायले फिल्डलाई हेर्ने दृष्टिकोण नै एकदम सतहि र गैरजिम्मेवार छ ।

उदाहरणका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बर बृध्दि भयो । काम नगरीकन, मेहनत नगरिकन बाघ बढेको होइन होला । देशले अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिबध्दता पुरा गर्न फिल्डले जुन संकल्प लिएर काम गर्यो अनि परिणाम देखायो त्यो माथिल्लो निकायले बुझ्नै सकेन वा बुझपचायो ।

अहोरात्र खटेर त्यत्रो उपलब्धि हाशिल गरेको फौजलाइ पुरुस्कार त परै जाओस स्याबास र धन्यवाद सम्म दिन नसक्नु कहाँसम्मको लाचारीपन हो ? माथिल्लो निकायमा बसेर फिल्डको उपलब्धिको श्रेय आफै लिने अनि फिल्डमा परेका समस्या समाधान गर्न र फिल्डका समस्याबाट हात झिक्ने प्रबृत्ति अत्यन्त घातक, हानिकारक र गैरजिम्मेवारीपनको पराकाष्ठ हो ।

यसका साथै अदलबदल हुने भनिएको पल्टन पुनः सोहि स्थानमा लामो समयसम्म रहेर दिनदिनै एउटै प्रकृतिको काम गरिरहँदा उत्साह घट्ने, नैरास्यता बढ्ने र झारा टार्ने प्रबृत्ति पनि देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा चोरीशिकारीले गैंडा मारेर आगोको झिल्को फालिसके । यो झिल्कोलाई तत्काल निर्मुल गरिएन भने यसले बिकराल रुप लिएर नियन्त्रण गर्न नसकिने अवस्था आउन सक्छ । अतः मन्त्रालय र बिभागले समेत चितवनमा देखिएको चुनौतिको सामना गर्न पहलकदमि लिनु जरुरी छ ।

चितवनका लागि उपयुक्त जनसक्तिको पहिचान गरी खटनपटन र परिचालन गर्ने, आवश्यक स्रोत साधन र बजेटको पर्याप्त ब्यवस्था गर्ने, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोसंग समन्वय र सहकार्यलाई अगाडी बढाउने, नेपाली सेनाको मनोबल उच्च बनाई परिणाममुखि उपलब्धि हासिल गर्न र आवश्यक भए बिशेष अतिरिक्त फौज परिचालन गर्न पहलकदमि लिन समेत ढिलाइ गर्नुहुन्न ।

फिल्ड स्तरमा ब्यापक गस्ति परिचालन, सुराकि संजाल बिस्तार, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, उपभोक्ता समुह, समिति, चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानलाइ सक्रिय बनाइ परिचालन गर्ने, पर्यटन ब्यवशायि, संचारकर्मी र जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईसंगको सहकार्यलाई ब्यवस्थित, नियमित र बिश्वासनिय बनाउने, दण्डसजाय पुरा गरी निस्केका ब्यक्तिहरुकाो गतिबिधि निगरानि गर्ने कार्यलाई तुरुन्त कार्यान्वयन गर्न ढिलाइ गरिनुहुन्न ।

यसो गर्दै जाँदा फेरि पनि अर्को बर्ष गैंडाको सुन्य चोरीशिकार बर्ष मनाउन सफल हुनेछौं । हामी गैंडाको सुन्य चोरीशिकार बर्ष निरन्तर मनाउन सक्षम हुनेछौं । किनकि हामीले पटक पटक नमेटिने मसिले गैंडाको सुन्यशिकार बर्षको इतिहास लेखिसकेका छौं । जो कसैले मेटाउन सक्ने छैन । चितवन राष्ट्रिय निकुञ्जलाई गैंडाको चोरीशिकार सुन्य बनाउने सक्ति र सफलता प्रापत होस भन्ने कामना गर्दछु । जय संरक्षण ।

 

प्रतिक्रिया

सम्बन्धित खवर