पोखरामा नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल
बुधबार, माघ २९, २०७६ मा प्रकाशित

चिप्लेढुंगा, माघ २९ : गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ । अमेरिकाको वासिंटनमा स्थापना भएको नेपाल विकास संघ (नेपाल डेभलपमेन्ट कन्सोर्टियम) को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मंगलबार पोखराका उद्योगीव्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल विकास संघको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास संघका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानीका लागि तयार रहन र सम्भावनाका क्षेत्र पहिचान गर्न पोखराका उद्योगीव्यवसायीसँग आग्रह गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको केही समयअघि भएको वासिंटन भ्रमण र उनको निम्तोमा त्यहाँका गभर्नर नेपाल आउन लागेको जानकारी दिँदै उनले सो अवसरमा विभिन्न क्षेत्रमा लगानीको सम्झौता हुनसक्ने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग राम्रो योजना छ, यहाँ क्यान्सर अस्पताल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छ’, उनले भने, ‘सियाटलमा साना हिमाल छन्, त्यहाँ प्रशस्त स्किरिसोर्ट खोलिएका छन्, यहाँको मनाङ र मुस्ताङमा पनि त्यो सम्भावना छ ।

कार्यक्रममा सो संस्थाका अर्का संस्थापक सदस्य मूर्ति कालकोराले व्यवसाय सफल हुन उत्पादनको अनुपात, योजना, योग्य कामदारको छनोट, व्यवस्थापन र आफ्नो उत्पादनसँग त्यहाँको संस्कृतिबारे जानकार हुनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले वासिंटनका गभर्नरको भ्रमणको बेला आउने लगानीकर्तासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए । उनले द्विपक्षीय लगानीले नेपाली उद्योगीव्यवसायीले सञ्चालन गर्ने उद्योगव्यवसायको दायरा बढ्ने विश्वास व्यक्त गरे । संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले नेपालमा धेरै सम्भावना भएको बताउँदै पूँजी र प्रविधि भित्र्याउन सके यहाँबाट राम्रो मुनाफा कमाउन सक्ने धारणा राखे । संघका महासचिव अर्जुन पोखरेलले लगानीका क्षेत्र पहिचान गरी सहकार्यको हात बढाउन व्यवसायीसँग आग्रह गरे । कार्यक्रममा पोखराका कृषि, उद्योग, पर्यटन तथा हस्तकला लगायतका व्यवसायसँग सम्बन्धित व्यवसायीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर