बेपत्ता परिवारको घाउमा सरकारले मल्हम लगाई रहेको छ : मन्त्री ज्ञवाली
बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, माघ १५ / परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले बेपत्ता पारिएका परिवारको घाउमा सरकारले मल्हम लगाई रहेको बताएका छन् ।

आज गुलरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सरकारले बेपत्ता परिवारको संरक्षण र हितको लागि काम अधि बढाएको बताए । परराष्ट्र मन्त्री ज्ञवालीको उपस्थितीमा बेपत्ता पारिएका द्वन्द्व पिडित परिवारलाई परिचय पत्र वितरण गरिएको छ । वितरण गरिएको परिचय पत्र कार्ड कागजमा मात्र सिमित नराख्ने मन्त्री ज्ञवालीले बताएका छन् । यस कार्डले बेपत्ता पारिएका पिडित परिवारलाई औपचारिक रुपमा चिनाउने प्रमाणको रुपमा सबित हुनेछ । राज्यबाट पाउने सेवा सुबिधा प्राप्त गर्न यस कार्डले महत्वपूर्ण भुमिका खेल्नेछ ।

सरकारले द्वन्द्व पिडितको लागि सेवा सुविधा उपलब्ध गराउने मन्त्रीले बताए । बेपत्ता पारिएका परिवारलाई पिडा त हुन्छ । तर बिगतका पिडालाई बिर्सेर भविष्यमा खुसी हुन पिडित परिवारलाई आग्रह समेत गरे । पिडित परिवारको घाउमा सरकारले मल्हम लगाएर घाउ पुरिने काम गरिरहेको मन्त्री ज्ञवालीले बताए ।

दश वर्षे शसस्त्र द्वन्द्वमा समावेश भएका पुर्व लडाकुहरु मध्ये १ हजार ४ सय ६० भन्दा बढीलाई सुरक्षा निकायमा प्रवेश गराएको र शैक्षिक योग्यता नपुगेकालाई विभिन्न स्तरका रकम सरकारले उपलब्ध गराएको समेत मन्त्रीले बताए ।

बारबर्दिया नगरपालिका–९ र ११ का बेपत्ता पारिएका पिडितका ६ घर परिवारलाई २१ वटा परिचय पत्र वितरण गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ ।

कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव कृष्ण जि.बि.घिमिरे, सदस्य डा. गंगाधर अधिकारी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, सरोकारवालाहरु , पिडित परिवारका सदस्यहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर