‘हलिउड स्टार लियोनार्दो डिक्याप्रियोले मलाई अंगालो हालेर फोटा खिचाएको र चश्मा दिएको सत्य कुरा हो’
शनिबार, माघ १७, २०७७ मा प्रकाशित

बर्दिया,माघ १७ (फरकसमाचार) / बाघ आक्रमणमा परेर आँखा जस्तो अंग गुमाउँदा जो कोहिले पनि बाघलाई कस्तो नजरले हेर्छ होला ? बाघको आक्रमणमा परेर महिनौ दिन अस्पतालमा छटपटाउँदा कस्तो पिडा हुन्छ होला, कमै मान्छे हुन्छन् आक्रमणकारीलाई बचाएर राख्ने सोच बनाउने ।

आक्रमणमा परि बाँच्ने र मर्ने दोशाधँमा पुगेका बेला के सोच्न बाध्य हुन्छन्, सायद यो कल्पना भन्दा बाहिर कुरा हो । आर्थिक अवस्थामा कमजोर भएको व्यक्ति महिना दिन पीडासँगै अस्पतालको खर्च तिर्दा त्यस्तो पीडादायक क्षण कसरी गुजरन्छ । त्यतिखेर पक्कै प्रतिशोध साध्न उत्रिन्छन् भन्ने हामी जो कोहिलाई पनि लाग्छ होला । तर, त्यस्तो अवस्थामा पनि बाघलाई माया गर्छन–मधुवन नगरपालिका खाता गाउँका भदै थारु ।

थारुको अचम्मको व्यवहारबाट हलिउड स्टार लियोनार्दो डिक्याप्रियो प्रभावित हुन्छन् । भदैको बर्दियामा पर्ने मधुवन नगरपालिकाको खाता स्थित खरले छाएको घरमा पुग्छन् उनी । बाघको बारेमा भदैसँग धारणा बुभ्mछन् । हलिउड स्टार लियोनार्दोले भदैलाई अंगालोमा बेरेर फोटो खिचाउँछन् । त्यतिबेला भदैलाई सम्झना स्वरुप चश्मा उपहार दिन्छन् । ७ बर्ष अघि देखि त्यहि चश्मा लगाएर भदै हिड्छन् । हलिउड स्टार लियोनार्दो डिक्याप्रियोले चश्मा उपहार दिएको भन्दा बिश्वास नर्गने गरेको उनले सुनाए ।

‘हलिउड स्टार लियोनार्दो डिक्याप्रियोले अंगालो हालेर फोटो खिचाएको र चश्मा दिएको सत्य कुरा हो,’ उनी भन्छन्, ‘हलिउडका चर्चित स्टार मेरो घर आएको सम्झदा कल्पनमा डुब्छु ।’
एक कार्यक्रम बिच हलिउड स्टार लियोनार्दो डिक्याप्रियोले उपहार दिएको चश्माले बाघ संरक्षणमा भदैलाई हौसलाका साथै उत्साह मिलेको छ ।

भदैको दुई आँखा मध्य एउटा आँखा छैन । हिड्दा चश्माको सहाराले हिड्नु पर्छ । अपांग भएर बाँच्नु पर्दा उनलाई पश्चाताप छैन । दुई छाकको जोहो र छोरा छोरीको अभिभारा उनकै काँधमा छ ।

गाँउ संरक्षणको गीत गाउँदै हासी खुसी जीवन बिताईरहेका छन् उनी । उनलाई संरक्षणमा जागरुक हुनका लागि संरक्षणमा लागी परेका संघ संस्थाले हरेक कार्यक्रममा उनलाई निम्क्तो दिएर बोलाउछन् । भदैले दाहिने आँखा गुमाएका छन् । घरका परिवारले गरेको खेति किसानीले गुजारा चलेको छ उनको ।

संरक्षणमा तत्पर भदै थारु २०६० पुस २२ गते आफु अध्यक्ष रहेको गौरी सामुदायिक वन रेखदेखका लागि पुगेका थिए । त्यतिबेला बाघसँग जुध्दा उनले दाहिने आँखा गुमाएका थिए । सामुदायिक वनमा खर खडाई खुलेकाले कसैले वन्यजन्तु मार्लान भनेर जंगल गएको थिए । तर त्यसदिन उनै माथि बज्रपात प¥यो । बाघसँग पैठे जारी खेलेपछि ज्यान त जोगाए तर उनले दाहिने आँखा गुमाए । उनलाई ३ महिना अस्पतालमा बस्नु परेको थियो । आक्रमणमा परेको आँखाले काम गर्न नसक्दा करिब एक बर्ष कोठामा बिताए । घरको काम गर्न नसकेपछि पारिवारिक समस्या थपिदै गयो । उनी संगै हिड्ने साथी पनि बोल्न छोडे । कानो भनेर उनलाई बाटो देख्ने मानिस अर्को बाटो हिडे । उनले पीडादायी क्षण स्मरण गरे ।

मोफसलको पत्रिकामा सय भन्दा बढि थारु भाषाका गजल, कविता स्थानिय पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । उनी लेख्न जान्दैनन् । अपांग भएका भदैका मनमनै गुनेर बनाएका गजल, कविता दुई छोराले कापीमा लेखेर उतारी दिन्छन् ।

उनी भन्छन, ‘अमेरिकाको हिरोले आधा घण्टा कुरा गरेरसंगै फोटो खिचेर लगेका छन्, मेरा लागि छोरा छोरी सरह वन्यजन्तु हुन । उनीहरुको लागि केही गर्नु छ ।’ कन्जरभेसन अवार्ड उनले पाएका छन् ।

करिब सात वर्ष अघि भ्रमण गरेका लियोनार्दोले बर्दिया राष्ट्रिय निकुञ्जमा चार दिन बिताएका थिए । उनले सामुदायिक वनका पदाधिकारी र स्थानिय प्रतिनिधिसँग भेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर