राष्ट्रिय अनुसन्धानका सहायक सूचक प्रविणको हत्या कसरी भएको थियो ?
बिहिबार, माघ २२, २०७७ मा प्रकाशित

बाँके, २१ माघ । हेलमेट विवादमा राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको हत्या भएको बाँके प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थापाको २ माघको राती करिव ९ः३० बजे हत्या भएको थियो । उनको शव ३ माघ विहान ९ बजे नेपालगन्ज उपमहानगरपालिका–१८ लग्दह्वास्थित तोरीबारीमा फेला परेको थियो ।

उनको टाउकोको पछाडी, निधारको बाँया भाग, माथिल्लो ओठ, दुवै खुट्टाको घँुडा, नली, हात, शरिरको विभिन्न भागमा चोट लागेको थियो । उनको चिरपट दाउरा प्रहार गरि हत्या भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बताए ।

कसरी भएको थियो घटना ?

नेपालगन्ज उपमहानगरपालिका–१८ कालिकामाई मन्दीर बगैचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोवार गर्ने स्थानको रुपमा प्रयोग हुँदै आएको छ । राष्ट्रिय अनुसन्धानका सहायक सूचक थापामगर उक्त क्षेत्रमा सूचना संकलनको लागि आफ्नो साथी कर्की भन्ने दिनेशकुमार कुर्मीसँग त्यस स्थानमा गएका थिए ।

पक्राउ परेका सातै जना गाँजा खाने साथी हुन् । १ माघको दिउँसो नेपालगन्ज बजार घुमेका थिए । बेलुकी करिव ६ बजे तिर अभियुक्त ६ जना गाँजा खानका लागि नेपालगन्ज उपमहानगरपालिका–१८, लग्दहवा स्थित आँप बगियामा गए । हत्या गरिएका थापा र कर्की पनि सोही बगियामा गए । मोटरसाइकल आँप बगियाका एक सय मिटर वरै रोकेर दुवै जना नजिकैको बगियामा बसे ।

गाँजा सेवन गरिसकेपछि घर फर्किने क्रममा अभियुक्तहरु ६ जना मध्ये विवेक परियारले मृतकको साथी कर्कीको मोटरसाइकलमा रहेको हेलमेट राम्रो लागेको भन्दै फोटो खिचे र उठाएर लगे । सहायक सूचक थापाले उक्त कुरा देखेपछि मृतक र कर्कीले उनीहरुको पिछा गर्दै हेलमेट फिर्ता माग्दै घटनास्थलसम्म पुगे ।

मृतक घटनास्थल पुग्नु अघि नै कर्की बाहेक अन्य ६ जना अभियुक्तले नजिकै रहेको बारमा रहेको दाउराको चिरपट पहिले नै समातेर मृतक माथि गरे । उनीहरुले थापामाथि आक्रमण गर्ने योजना पहिले नै बनाएका थिए ।

घटनास्थल पुग्ने बित्तिकै मृतक र अभियुक्त विच हेलमेट माग्ने क्रममा विवाद भई अभियुक्तहरु (निश्चल गुरुङ, तेजबहादुर वि.एम., विवेक परियार, सुमित वि.क., सुशान्त भण्डारी र सुवास थापा) ले मृतक थापाको टाउको, निधार, खुट्टा, घुँडा, नली, शरिरको अन्य भागमा दाउराको चिरपटले पटक–पटक प्रहार गरे । मृतक थापा भुइँमा लडेपछि मृतकको शरिर चेकजाँच गरि साथमा रहेको सामसुङ मोबाइल भुन्टु भन्ने सुवास थापाले लिएर गए । उनको साथमा रहेको सादा मोवाइल बाङ्गे भन्ने सुमित विकले लिएर गएको प्रहरीले जनाएको छ ।

मृतक थापाको साथी कर्कीले आफ्नो साथीमाथि आक्रमण हुने बेला थापामगरलाई बचाउने प्रयास नगरेको, घटना पछि भागेको र सो बारेमा मृतकका घर परिवार तथा प्रहरी प्रशासनमा समेत जानकारी नदिई फरार भए । घटना लगत्तै कर्कीको हेलमेट विवेक परियारले आफ्नो घर लिएर गए । तर, पक्राउ पर्छु भन्ने डरले भोली पल्ट विहानै हेलमेट आगोमा जलाई नष्ट गरे । त्यसपछि घटनामा संलग्नहरु फरार भए ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ पर्ने को–को छन् ?

हत्यामा संलग्न भएका सवैजनालाई पक्राउ गरिसकेको बाँके प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रमुख रानाका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१८, लग्दह्वाका २४ बर्षिय कर्की भन्ने दिनेशकुमार कुर्मी (बर्मा) लाई प्रहरीलाई पक्राउ गरेको छ । उनी मजदुरी गर्दै आएका उनलाई २ माघका दिन लग्दह्वाबाट पक्राउ परे ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सुर्खेत, गुर्भाकोट नगरपालिका–१४, गुमी घर भई हाल नेपालगन्ज उपमहानगरपालिक–१८, लग्दह्वा बस्दै आएका निश्चल गुरुङ पक्राउ परेका छन् । उनी पनि मजदुरी गर्दै आएका थिए । उनलाई १७ माघका दिन कैलालीको धनगढी बसपार्कको एक होटलबाट पक्राउ परे ।

घटना लगत्तै फरार रहेका बिबेक परियारलाई १५ माघमा भक्तपुरको चागुनारायण तथालीबाट नियन्त्रणमा लिन सफल भयो ।

सुमित बि.क. र सुशान्त भण्डारीलाई १५ माघकै दिन नेपालगन्ज बसपार्कस्थित समावेसी स्कुल नजिकबाट नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख रानाले बताए ।

जाजरकोट जुनिचाँदे गाउँपालिका–७ दह घर भई हाल नेपालगन्ज–४ बसपार्क बस्दै आएका २१ बर्षिय तेज बहादुर बि.एम. लाई प्रहरीले धनगढी उपमहानगरपालिका–४, बसपार्क स्थित होटलबाट पक्राउ गरेको एसपी रानाले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका–५, बसपार्कका १६ बर्षिय विद्यार्थी, राप्तीसोनारी गाउँपालिका–१ कुसुमका १७ बर्षिय विद्यार्थी र सुर्खेत बीरेन्द्रनगर–१० घर भई हाल नेपालगन्ज–२ घरबारीटोल बस्ने १६ बर्षिय भुन्टु पनि पक्राउ परेका छन् । उनी पनि ज्याला मजदुरी गर्दै आएका थिए ।

अनुसन्धान खोजतलास गर्दै जाँदा अभियुक्तहरु मध्येको सुवास थापालाई १३ माघमा नेपालगन्ज उपमहानगरपालिका–२ घरवारी टोलबाट प्रहरीले पक्राउ गर्यो ।

के–के बरामद भए ?

घटनास्थलबाट कर्कीले प्रयोग गर्ने एक जोर फिस चप्पल बरामद गरि प्रहरीले अनुसन्धान सुरु गर्यो । प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा घटनास्थल देखि करिव दुई सय मिटर उत्तरतर्फको आँप बगियामा मृतकले प्रयोग गर्ने भे ३ प ६१५ नं. को सुपर स्प्लेण्डर मोटरसाइकल फेला पार्यो । ५ माघका दिन कर्कीले प्रयोग गर्ने भे ८ प २००७ नं. होण्डासाइन मोटरसाइकल प्रहरीले बरामद गर्न सफल भयो ।
मृतकको सादा मोबाइल बाङ्गे भन्ने सुमित वि.क. को घरबाट १६ माघका दिन प्रहरीले बरामद गर्यो । तेज मगर र निश्चल गुरूङ दाङ, सुर्खेत हुँदै धनगढीस्थित बसपार्कका एक होटलमा लुकिछिपी बसेको अवस्थामा १७ माघका दिन पक्राउ परे ।

अनुसन्धानका क्रममा प्रहरीले मृतकको दुई थान मोवाइल, घटनामा प्रयोग भएका चार थान चिरपट र कर्कीले प्रयोग गर्ने हेलमेटको सानो टुक्रा प्रहरीले फेला पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर