सुरुंगा, फागुन १० : ‘गौरीशंकर खड्का स्मृति’ सम्मान विभिन्न व्यक्तित्वलाई अर्पण गरिएको छ । शुक्रबार गौरीशंकर स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीसहित वरिष्ठ गायक रामकृष्ण दुवाल, जेवी टुहुरे, मणि थापा र जीवन शर्मालाई सो सम्मान प्रदान गरिएको हो ।
पहिलो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित खड्काको २०६७ फागुन ९ गते क्यान्सर रोगले निधन भएको थियो । उनको सम्झनामा प्रतिष्ठानले हरेक वर्ष सम्मान तथा अभिनन्दनको कार्यक्रम गर्दै आएको छ । बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा ती सम्मानित व्यक्तित्वलाई नगद ५० हजारसहित प्रतिष्ठानले अभिनन्दन गरेको थियो ।
संघीय प्रतिनिधिसभाका सांसद अमृतकुमार बोहराले सम्मान अर्पण गर्दै गीतसंगीतको माध्यमबाट राजनीतिक रुपान्तरणमा सम्मानित व्यक्तित्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम चुँडाल ‘राजु’ले झापाको विकासमा खड्को योगदानको चर्चा गरे ।