कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति
आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

खोटाङ, फागुन ११  : कालोपत्रको काममा ढिलासुस्ती तथा गुणस्तहीन भएको र कार्यरत कामदारले पारिश्रमिक नपाएको विरोधमा स्थानीयवासीले अवरोध गरेको महुरे–राजापानी–सिम्पानी सडकको काम पुनः सञ्चालन गराउने सहमति भएको छ । ठेकेदार कम्पनीसँग आक्रोशित बनेका स्थानीयवासीले यही फागुन ८ गतेदेखि अवरोध गराएको सडक कालोपत्रको काम जिल्ला प्रशासन कार्यालय खोटाङको पहलमा पुनः सञ्चालन गराउने सहमति भएको हो ।

आइतबार कामदार तथा उधारो दिएका व्यवसायीलाई ठेकेदारले १० लाख बाँडिदिने, सोमबारदेखि सडकको काम पुनः सञ्चालन गराउने, जिरोप्वाइन्ट रहेको माहुरेबाट कालोपत्रको काम टुंग्याउँदै जाने, बस्ती तथा विद्यालय आसपासमा उड्ने धुलो नियन्त्रण गर्न ठेकेदारले ट्यांकरमार्फत दैनिक पानी छ्याप्नेलगायतका सहमति भएपछि अवरोध हटाइएको बुइपाका स्थानीयवासी एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता मिलन राईले बताए । ‘ठेकेदार कम्पनीले मनपरी गरेपछि कालोपत्रको सम्पूर्ण काम रोकेका हौँ’, उनले भने, ‘आज प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’, नेकपा नेता देवविक्रम राई, ठेकेदार कम्पनीका प्रतिनिधि नवीन मैनाली र स्थानीयवासीको उपस्थितिमा पञ्चदोबाटोमा भएको छलफलपछि पुनः काम सञ्चालन गराउने सहमति भएको हो ।’

छलफलमा निर्माण कम्पनी भारत कन्ट्रक्शन÷सिद्धी शाही जेभीका निर्माणस्थलमा खटिनुभएका मैनालीलाई बाँकी रहेको समयभित्र सडक कालोपत्रको काम पूरा गर्न निर्देशन दिइएको संविधानसभा सदस्य पिकेले बताए । काम शुरु गरेदेखि अहिलेसम्म पनि कामदारलाई पारिश्रमिक नदिएकामा निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीविरुद्ध आक्रोशित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, वडा नं १४ बुइपा, वडा नं १५ विजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका स्थानीयवासीले काममा अवरोध गरेका थिए ।

सगरमाथा राजमार्गको गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडकखण्डअन्तर्गत महुरेदेखि राजापानीको सिम्पानीसम्मको २२ किलोमिटर सडकको ठेक्का लिएको भारत कन्ट्रक्शन÷सिद्धी शाही जेभीले काम गरेवापतको पारिश्रमिक अहिलेसम्म नदिएपछि आक्रोशित कामदारले गत पुस २० गतेदेखि झण्डै महिना दिनभन्दा बढी सडकको काम ठप्प बनाएका थिए । तोकिएको भाकामा पारिश्रमिक नपाएको विरोधमा करीब १५० कामदारले निर्माण कम्पनीको टिपर, ट्यांकर, ट्र्याक्टरलगायत सबै सवारी साधनको चाबी ठेकेदारबाट खोसेर प्रहरीचौकी बुइपालाई बुझाएका थिए ।

ठेकेदारको कामको गति हेर्दा बाँकी रहेको समयभित्र सडक कालोपत्रका काम पूरा हुने सम्भावना नदेखिएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । ‘ठेकेदारले पारिश्रमिक नदिएपछि उसको क्षेत्रमा स्थानीय कामदार काम गर्न मान्दैनन्’, उनले भने, ‘आगामी दिनमा ठेकेदार कम्पनीले कामदारलाई नियमित पारिश्रमिक दिएमा मात्र सडक कालोपत्रको कामले गति लिने देखिन्छ ।’

ठेकेदारले भुक्तानी नदिएपछि स्थानीय व्यवसायीले समेत ठेकेदारलाई निर्माण सामग्री उपलब्ध गराउन छाडेको थियो । निर्माण कम्पनीले पटक–पटक आफ्नो निर्माणस्थलमा खटिएका प्रतिनिधिसमेत परिवर्तन गर्दै आएको छ । तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकको सिम्पानीदेखि फोक्सिङटारसम्मको २७ किलोमिटर देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले गरिरहेको छ । फराकिलो पार्ने र ग्याभिङ पर्खाल निर्माण मात्र सम्पन्न भएको उक्त खण्डको काम पनि सुस्तगतिमा भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर