‘सरकार परिवर्तनको अनावश्यक हल्ला भो’
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

सुर्खेत, फागुन १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले कर्णाली प्रदेश सरकार परिवर्तन अनावश्यक हल्ला भएको बताएका छन् ।

नेकपा कर्णाली प्रदेशद्वारा राजधानी सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष बोगटीले कर्णाली प्रदेश सरकार परिवर्तनका बारे पार्टीमा कुनै कुरा नभएको प्रष्ट्याए । सरकार फेरबदल के हो ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष बोगटीले भने, ‘पार्टीमा यस्तो कुरा चलेको छैन । अन्य कहाँ के भएको त्यसको सरोकार छैन । बरु पार्टी नजिक रहेर सहयोग गर्छ र यो सरकारले आफ्नो कार्यकालमा पूर्णरुपमा काम गर्नुपर्दछ ।’

प्रदेश सरकारलाई जनमुखी र प्रभावकारी ढंगले सञ्चालन गर्न यही फागुन ६ र ७ गते नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई कर्णाली प्रदेशमै आमन्त्रण गरी कर्णाली प्रदेशस्तरीय बृहत्तर अगुवा कार्यकर्ता भेला सम्पन्न गरिएको उनले बताए । अध्यक्ष बोगटीले अगाडि भने, ‘अध्यक्ष दाहाललगायत सबै केन्द्रीय नेताहरूले कर्णालीको विकास र समृद्धिका लागि मौखिक लिखित प्रतिबद्धता गरेर जानुभएको छ ।’

पार्टी एकतापश्चात कर्णालीमा तलसम्म पार्टी कमिटीहरू निर्माण भइसकेको बताउँदै उनले अब यहाँका १० वटै जिल्लामा फागुन महीनाभरि जिल्ला कमिटी बैठक सम्पन्न गर्ने, विसं २०७७ वैशाख दोस्रो सातासम्म टोलसम्म बैठक, भेला, प्रशिक्षण, स्कुलिङ तथा अन्तरक्रिया सम्पन्न गरिसक्ने हेतुले केन्द्रीय पार्टीले यही माघ १५–१९ गतेसम्म भएको दोस्रो ऐतिहासिक बैठकबाट पारित ‘पार्टी एकता शुद्धीकरण तथा जनसम्बन्ध विस्तार अभियान’लाई तीव्रताका साथ अघि बढाउने जनाए ।

नेकपाका कर्णाली प्रदेशका सचिव मायाप्रसाद आचार्यले विकास निर्माणका गतिविधिहरूलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन सरकारले आफ्नो र नेकपाले पार्टीको तर्फबाट अनुगमन तथा निरीक्षण गर्ने संयन्त्र निर्माण गरी सुशासन कायम गर्न सहयोग पु¥याउने नीति अघि सारिएको बताए । उहाँका अनुसार स्थानीय सरकारको सुशासन र सबलीकरणका लागि पनि पार्टीले अनुगमन संयन्त्र निर्माण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय