बागलुङ, फागुन १२ : गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको सालिक राखिने भएको छ । सोही ठाउँमा निर्माणाधीन अमरसिंह पदमार्गछेउ सालिक राख्न निर्माणको काम शुरु भएको हो ।
आगामी चैत १४ गते कर्णेल उजिरसिंह थापाको २२४औँ स्मृति दिवसका अवसरमा सालिक अनावरण गरिने सात सय बगाले थापा समाज मल्मका केन्द्रीय प्रतिनिधि छुमबहादुर थापाले जानकारी दिए । ‘जगसहित अरू संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ’, थापाले भने । सालिक निर्माणका लागि बगाले थापा समाज बेलायतबाट नगद एक लाख ७० हजार सहयोग प्राप्त भएको थियो ।
सात सय बगाले थापा समाज मल्मले सानोखोला–बगाले थापा कूल मन्दिर–राम्चेढुंगा हुँदै पर्यटकीय लेक घुम्टे जोड्ने अमरसिंह पदमार्गको निर्माणलाई पनि गति दिएको छ । समाजको आयोजना र बगाले थापा क्षेत्री समाज धवलागिरिको समन्वयमा आगामी चैत १३ र १४ गते कर्णेल उजिरसिंह थापाको स्मृति दिवससहित विविधि कार्यक्रम गरिँदैछ ।
उक्त कार्यक्रममा देशभरबाट बगाले थापाका प्रतिनिधिहरूको मल्ममा जमघट हुने जनाइएको छ । सो अवसरमा नेपालको राष्ट्रिय स्वाधीनताको रक्षामा बगाले थापाले पु¥याएको योगदानमाथि विद्वानबाट कार्यपत्र प्रस्तुतिसहित बहस कार्यक्रम हुँदैछ ।
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले विसं १८७१–१८७२ मा बुटवलको जीतपुरगढीमा भएको युद्धमा अंग्रेज सेनालाई पराजित गरेको थियो ।