गणपति आयलको कारोबार अनिश्चितकाल रोक्का
बिहिबार, साउन २६, २०७९ मा प्रकाशित

बर्दिया, साउन २६ (फरकसमाचार) / गुलरिया नगरपालिका–३ खैरापुर स्थित रहेको गणपति आयल स्टोरको कारोबार अनिश्चितकालको लागि रोक्का गरिएको छ । संयुक्त बजार अनुगमन समितिले अर्को आदेश नआएसम्मको लागि उक्त आयल स्टोलको कारोबारमा रोक्का लागएको हो ।

संयुक्त बजार अनुगमन टोलीले बुधबार आयल स्टोरको अनुगमन गर्ने क्रममा त्रुटि भेटाएपछि अनिश्चितकालको लागि कारोबार बन्द गराएको छ । गुलरिया नगरपालिका र मधुवन नगरपालिका अन्तर्गत ३८ वटा व्यवसायमा अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएका खाद्यान्न सामाग्रीसमेत फेला परेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले एक आयल स्टोरलाई अनिश्चतकाल रोक्का र १० वटा व्यवसायीलाई कारवाही गरेको छ । १० वटा व्यवसायीलाई कारवाही गरी रु ९२ हजार जरिवाना समेत गरेको जिल्ला प्रशासनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी रु २५ हजार १ सय ९९ बराबरको म्याद गुज्रिएका समान जफत गरी नष्ट गरेको छ ।

अनुगमन टोलीले अनुगमन गरेको व्यवसायमा सबैले देख्ने गरी मुल्य सुचि राख्नु पर्ने, म्याद गुज्रिएका सामान बिक्री नगर्न, बिल बिजल दुरुस्त राख्न निर्देशन समेत दिएको छ । साथै व्यवसाय संचालनमा देखिएका त्रुटि एक साता भित्र सुधार गर्न चेतावनीसमेत दिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले खाद्यान्न पसल, फेन्सी, पेट्रोल पम्प, फ्रेस हाउसलगायतका व्यवसायमा अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज, गुणस्तर तथा नापतौल कार्यालय नेपालगंज, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, मधुवन नगरपालिका, प्रहरी, संचारकर्मी, राष्ट्रिय उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय