आज देखि बढैयातालमा माघी महोत्सव सुरु
बिहिबार, पुष २६, २०८० मा प्रकाशित

बर्दिया,पौष २६(फरकसमाचार)/ आज बिहीबार देखि प्रथम प्रादेशिक बढैयाताल कृषि पर्यटन औद्योगिक व्यापार तथा माघी महोत्सव २०८० सुरु हुदैछ । बढैयाताल उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरि महोत्सवको कार्यक्रम बारे सम्पुर्ण जानकारी गराईएको हो । बढैयाताल उद्योग वाणिज्य संघको आयोजनामा आज बिहीबार(पौष २६) देखि सुरु हुने महोत्सव माघ ७ गतेसम्म चल्नेछ । बढैयाताल गाउँपालिका–६ मैनापोखरमा महोत्सव लागेको छ ।

बढैयातालको पहिचानको लागि महोत्सव आयोजना गरेको बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले बताए । ‘हामीसंग धेरै कुरा रहेका छन्’ अध्यक्ष लामिछानेले भने,‘तै पनि बढैयातालको पहिचान दिलाउन सकेका छैनौं ।’ बढैयाताल गाउँपालिकाले कृषि, पर्यटन, औद्योगिक र व्यापारमा प्रचुर सम्भावना बोकेको छ । तर, यसको प्रचार प्रसार नहुँदा पहिचान बिहिन बनेका छौं । अन्य जिल्लामा जाँदा बढैयाताल गाउँपालिकाबाट आएको बताउँदा थाहा पाउँदैनन् ।

बढैयाताल गाउँपालिका वडा ४ र ५ माछाको हव भनेर चिनिन्छ । त्यसैगरि पछिल्लो समय जिल्लाकै ठुलो ताल बढैयाताल अवालोकन गर्ने पर्यटकहरुको संख्या दिन प्रति दिन बढ्दै छ । माछा, ड्रागेन फ्रुट, ढाका उद्योग र लुम्बिनी प्रदेशकै ठुलो दूध उत्पादन डेरीको बजारीकरण गर्न सकेका छैनांै ।

महोत्सवमा स्थानीय कृषि उत्पादनका स्टल भरिभराउ राखेर व्यापक प्रचार प्रसार गरेर बजारीकरण गर्ने र चिनाउने अध्यक्ष लामिछानेले जानकारी जनाए । ‘महोत्सवमा स्थानीय कृषि उत्पादनका स्टल राखिन्छ’ अध्यक्ष लामिछानेले भने, ‘बढैयातालका स्थानीय कृषि उत्पादनका स्टल राख्न पैसा लाग्ने छैन,आयोजक आफैले व्यहोर्नेछ ।’ बढैयातालको समृद्धिको सुरुवात यस महोत्सवबाट हुने आँकलनका साथ महोत्सवको आयोजना गरेको अध्यक्ष लामिछानेले सुनाए ।

महोत्सवको अनुमानित ६८ लाख ५५ हजार आय व्यय रहने जनाईएको छ । महोत्सवबाट बचत भएको रकमले संघको बहुउद्देश्यीय सभा हल र व्यवसायीक हितार्थ प्रयोग गर्ने गरिने जनाईएको छ । महोत्सवको टिकट दर रु एक सय, विद्यार्थीलाई रु ५०, अपांङ र जेष्ठ नागरिकलाई टिकट नलाग्ने जनाईएको छ । महोत्सवमा एक लाख बढी अवालोकनकर्ता भित्रियाउने योजना रहेको बढैयाताल उद्योग वाणिज्य संघका महासचिव दिपक खनालले जनाए ।

महोत्सवले लुकेका स्थानीय कला संस्कृतिलाई चिनाउने विश्सवास छ । महोत्सवमा स्थानीय जातजातिका खानाका प्रकार, धर्म संस्कृति भल्काउने खालका झाँकी प्रर्दशन हुनेछ । त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर