गुणस्तरीय सेवाले बर्दिया अस्पतालको चर्चा
बिहिबार, माघ २५, २०८० मा प्रकाशित

बर्दिया,माघ २५(फरकसमाचार)/ कार्य सम्पादन र गुणस्तरीय सेवाले समय समयमा बर्दिया अस्पतालको चर्चा हुने गरेको छ । बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेयले विगत ७ वर्ष देखि अस्पताल हाकिरहेका छन् । यस अवधिमा मेसु पाण्डेयले गरेको कामले बर्दिया अस्पताल बेला बेलामा चर्चा पाउने गरेको हो ।

यति बेला प्रशासनले कार्य सम्पादनको आधारमा गरेको मुल्यांकनमा अस्पतालका मेसु डा. पाण्डेयलाई उत्कृष्ट कार्यालय प्रमुख घोषणा गरेको छ । बर्दिया अस्पतालका मेसु डा. पाण्डेयलाई जिल्ला प्रशासन कार्यालयले पौष महिनाको उत्कृष्ट कार्यालय प्रमुख घोषित गरेको छ । प्रशासनले मेसु डा.पाण्डेयलाई मंगलबार उत्कृष्ट कार्यालय प्रमुख घोषित गरि प्रशंसा पत्र दिएको छ ।

उत्कृष्ट कार्य सम्पादन गरेकालाई प्रशासनले प्रत्येक महिना उत्कृष्ट कार्यालय प्रमुख उद्घोष गर्ने व्यवस्था गरेको छ । कार्य सम्पादनको आधारमा उत्कृष्ट कार्यालय प्रमुख घोषणा गर्ने प्रशासनको कार्यले उर्जा थपिने छ । यस अघि मासिक कार्य सम्पादनको आधारमा कार्यालय प्रमुखहरुलाई उत्कृष्ट घोषणा गर्ने गरिएको थिएन । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल आएपछि पौष महिना देखि कार्य सम्पादनको आधारमा कार्यालय प्रमुखलाई उत्कृष्ट घोषणा गर्ने कार्यको सुरुवात भएको छ ।

कार्यालय प्रमुखहरुको मासिक बैठक र कार्य सम्पादनको समिक्षाले भएका कमीकमजोरीलाई सच्चाएर प्रभावकारी सेवा प्रर्वाह गर्न मद्दत पुग्छ । साथै कार्य सम्पादन मुल्यांकनको आधारमा उत्कृष्ट कार्यालय प्रमुख घोषणाले थप जिम्मेवारी बोध गराउने विश्वास छ ।
कार्य सम्पादन, स्थलगत अनुगमन र सेवाले जनसमुदायमा परेको प्रभावलाई आधार मानेर प्रशासनले गरेको मुल्यांकनमा उत्कृष्ट कार्यालय प्रमुख घोषणा भएको मेसु डा.पाण्डेयले बताए । त्यसैगरि मासिक रुपमा भौतिक प्रगति, आर्थिक प्रगति र देखिएका समस्या उल्लेख गरि जिल्ला प्रशासन कार्यालयमा रिपोर्ट पठाउने गरेको जानकारी दिए ।

पहिलेको अस्पताल र अहिलेको अस्पतालमा धेरै परिर्वतन भएको पाईन्छ । अस्पतालको मुहार फेर्नेलगायत सेवा विस्तारमा मेसु पाण्डेको ठुलो योगदान रहेको सावित हुन्छ । मेसु डा.पाण्डेयकै नेतृत्वमा बर्दिया अस्पताल कार्य सम्पादनको आधारमा लुम्बिनी प्रदेशमा प्रथम हुदै आएको छ । मुल्यांकन गरिएको चार वर्षमा तीन पटक प्रथम र एक पटक दोस्रो भएको छ ।

सेकेन्डरी ए लेभलका अस्पतालहरुमा न्युनतम सेवा मापदण्डको समिक्षामा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै पहिलो हुदै आएको छ । सिमित स्रोतसाधन बिच उत्कृष्ट सेवा प्रर्वाह गरि आफ्नो पहिचान बनाएको छ । आर्थिक वर्ष ०७६/०७७ मा पहिलो, आव ०७७/०७८ मा पहिलो, आव ०७८/०७९ मा दोस्रो र आव ०७९/०८० मा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय