एक लाख बढी बालबालिकालाई दादुरा रुवेला खोप दिईने
बुधबार, फागुन ०९, २०८० मा प्रकाशित

बर्दिया,फागुन ९ (फरकसमाचार)/ बाल मृत्युदर र अपाङ्गता दर घटाई बालबालिकालाई सुरक्षित राख्न दादुरा रुवेला खोप अभियान संचालन हुने भएको छ । जिल्ला स्थित कोही बालबालिका नछुट्ने गरि खोप अभियान संचालन हुने भएको हो । पहिलो चरण जिल्लाको सात वटा पालिकामा फागुन १३ गते देखि फागुन १८ गतेसम्म र दोस्रो चरण बाँसगढी नगरपालिकामा फागुन २१ गते देखि २३ गतेसम्म दादुरा रुवेला खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालयले मंगलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जनाएको छ । खोप अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकामा खोप लगाउने स्वास्थ्य कार्यालयको योजना छ ।

जिल्ला भरिका १ लाख १८ हजार ५ सय २७ बालबालिकामा दादुरा रुवेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । ‘९ महिना देखि ५ वर्षसम्मका ३१ हजार ४ सय ४९ र ५ वर्ष देखि १५ वर्ष मुनिका ८७ हजार ७८ जना बालबालिकामा खोप लगाउने तयारी छ’ प्रमुख गिरीले भने,‘जसको लागि ४ सय ८४ वटा खोप केन्द्र तोकिएको छ ।’ ९ सय ६८ स्वास्थ्यकर्मी र १ हजार ४ सय ५२ स्वयंसेवक परिचालन गर्ने प्रमुख गिरीले जानकारी दिए । यस खोप अभियानलाई सफल पार्न जिल्ला स्तरिय तर्जुमा गोष्ठि, खोप कार्यकर्तालाई तालिम, प्रचार प्रसारको लागि अभिमुखिकरण र सम्बन्धित व्यक्तिहरुसंग समन्वय गरिरहेको सुनाए । पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने प्रमुख गिरीले जनाए ।

दादुरा रुवेला रोग शून्य हुनु पर्नेमा निरन्तर रुपमा देखा परिरहेको छ । गत वर्ष बर्दियामा ७२ जना बालबालिकामा दादुरा रुवेला देखा परेको स्वास्थ्य कार्यालयको रेकर्डले पुष्टि गर्छ । सन् २०२६ सम्म दादुरा रुवेला नेपालबाट निवारण गर्ने लक्ष्य लिएर खोप अभियान अघि बढेको छ ।
ज्वरो र रातो घमाउँरा जस्तो बिबिरा आउने दादुरा रोगको लक्षण हो । यो संक्रमाक रोग लागेपछि पखाला लाग्ने, निमोनिया हुने, कान पाक्ने, आँखा रतान्धो हुने जस्ता समस्या देखिन्छन् । यसले बालबालिकाको मृत्यु हुने जोखिम हुन्छ । दादुरा रुवेला खोपले रोगसंग लड्ने क्षमता बढाएर यो रोग लाग्नबाट बालबालिकालाई सुरक्षित गर्छ ।

दादुरा रुवेला खोप अभियानलाई सफल पार्न व्यापक रुपमा प्रचार प्रसार गर्न संचारकर्मीलाई प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले आग्रह गरे । यस राष्ट्रिय अभियानलाई सफल पार्न सम्पुर्ण राष्ट्रसेवक कर्मचारी आ–आफ्नो क्षेत्रबाट सहयोगको लागि परिचालन हुने प्रजिअ खरेलले विश्वास व्यक्त गरे ।

अभिमुखिकरण कार्यक्रममा प्रजिअ बेद प्रसाद खरेल, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, उप–प्रमुख अमिता यादव, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय