गुलरियाको सबै वडामा एकैसाथ दादुरा रुबेला खोप अभियान आइतबार देखि संचालन हुदै
शनिबार, फागुन १२, २०८० मा प्रकाशित

बर्दिया,फागुन १२ (फरकसमाचार)/ गुलरिया नगरपालिकाको १२ वटै वडामा एकैसाथ दादुरा रुबेला खोप अभियान संचालन हुदैछ । दादुरा रुबेला खोप अभियान भोलि आइतबार (फागुन १३ गते)देखि फागुन १८ गतेसम्म संचालन हुने छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकामा दादुरा रुबेला खोप लगाईने गुलरिया नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जनाएको छ ।

लक्षित उमेर समुहका बालबालिकाहरु नछुट्ने किसिमले खोप अभियान संचालन हुने गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले बताए । ‘गुलरिया नगरपालिकाको १२ वटै वडामा ८५ वटा खोप केन्द्र तोकिएको छ’ शाखा प्रमुख पाण्डेले भने,‘नगरका २३ हजार २ सय ३८ बालबालिकालाई दादुरा रुबेला खोप दिने योजना छ ।’ साथै यसै खोप अभियानमा नियमित खोप छुटेका बालबालिकालाई नियमित खोपसमेत लगाईने छ । यस खोप अभियानलाई सफल पार्न सम्पुर्ण तयारी भईसकेको शाखा प्रमुख पाण्डेले जानकारी दिए ।

मधेसी समुदायमा दादुरा र रुबेलालाई चेचक वा माताजी भनेर औषधी समेत नगर्ने मान्यता रहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘बजार नजिकका समुदायले बुझेका छन्, तर गाउँमा अझै दादुरा रुबेलालाई माता भन्ने चलन छ ।’ त्यसैले गाउँतिर व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम गरेर दादुरा रुबेलाको खोप लगाउनु पर्छ भनेर सबैलाई सचेत गराउनु पर्छ । दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी र संचारकर्मीसंग सहकार्य गरि अघि बढ्ने नगर प्रमुख यादवले भनाई राखे ।

सन् २०२६ सम्म दादुरा रुवेला नेपालबाट निवारण गर्ने लक्ष्य लिएर खोप अभियान अघि बढेको छ । ज्वरो र रातो घमाउँरा जस्तो बिबिरा आउने दादुरा रोगको लक्षण हो । यो संक्रमाक रोग लागेपछि पखाला लाग्ने, निमोनिया हुने, कान पाक्ने, आँखा रतान्धो हुने जस्ता समस्या देखिन्छन् । यसले बालबालिकाको मृत्यु हुने जोखिम हुन्छ । दादुरा रुवेला खोपले रोगसंग लड्ने क्षमता बढाएर रोग लाग्नबाट बालबालिकालाई सुरक्षित गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय