आइतबार देखि दादुरा रुबेला विरुद्धको खोप अभियान शुरु
सोमबार, फागुन १४, २०८० मा प्रकाशित

बर्दिया,फागुन १४ (फरकसमाचार)/ आइतबार देखि दादुरा रुबेला विरुद्धको खोप अभियान शुरु भएको छ । गुलरिया नगरपालिका–६ बगलामुखी माविमा आयोजित शुभारम्म कार्यक्रममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरि खोप अभियान शुरु भएको हो । जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट र प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

बगलामुखी माविमा अध्ययनरत तीन वर्षिय बालिका राशी पासीलाई स्वास्थ्यकर्मी पद्मा ओलीले दादुरा रुबेला विरुद्धको पहिलो खोप लगाएकी थिईन् । खोप केन्द्रहरुमा उत्साहजनक बालबालिकाको उपस्थिती देखिएको छ । खोप अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकामा खोप दिईएको छ ।

जिल्लाको सात वटा पालिकामा आइतबार फागुन १३ गते देखि फागुन १८ गतेसम्म खोप अभियान चल्नेछ । त्यसैगरि बाँसगढी नगरपालिकामा फागुन २१ गते देखि २३ गतेसम्म दादुरा रुवेला खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा आइतबार देखि दादुरा रुबेला विरुद्धको खोप अभियान शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । ‘यस अभियानलाई सबैले मिलेर सफल परौं’ प्रमुख गिरीले भने,‘खोप अभियानको अवधिमा आफुलाई पायक पर्ने तोकिएको खोप केन्द्रमा बालबालिकालाई उपस्थित गराएर खोप लगाउनु होला ।’

जिल्ला भरिका १ लाख १८ हजार ५ सय २७ बालबालिकामा दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य लिएर स्वास्थ्य कार्यालय अघि बढेको छ । जसको लागि ९ सय ६८ स्वास्थ्यकर्मी र १ हजार ४ सय ५२ स्वयंसेवक स्वास्थ्य कार्यालयले परिचालन गरेको छ ।
सन् २०२६ सम्म दादुरा रुवेला नेपालबाट निवारण गर्ने लक्ष्य लिएर खोप अभियान संचालन गरिएको छ । ज्वरो र रातो घमाउँरा जस्तो बिबिरा आउने दादुरा रोगको लक्षण हो । यो संक्रमाक रोग लागेपछि पखाला लाग्ने, निमोनिया हुने, कान पाक्ने, आँखा रतान्धो हुने जस्ता समस्या देखिन्छन् । यसले बालबालिकाको मृत्यु हुने जोखिम हुन्छ । दादुरा रुवेला खोपले रोगसंग लड्ने क्षमता बढाएर यो रोग लाग्नबाट बालबालिकालाई सुरक्षित राख्छ ।

गुलरिया नगरपालिकाको सबै वडामा आइतबार देखि दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले बताए । गुलरिया नगरपालिकाको १२ वटै वडामा ८५ वटा खोप केन्द्र तोकिएको छ । नगरका २३ हजार २ सय ३८ बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिने योजना रहेको छ । नगरमा कोही बालबालिका नछुट्ने गरि खोप अभियान सुरु भएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय