बारबर्दियामा नविन प्रविधिको शुद्ध खानेपानी आपूर्ति प्रणालीको स्थापना
बुधबार, फागुन १६, २०८० मा प्रकाशित

बर्दिया,फागुन १६(फरकसमाचार)/ बारबर्दिया नगरपालिकामा नविन प्रविधिको शुद्ध खानेपानी आपूर्ति प्रणाली स्थापना भएको छ । बारबर्दिया नगरपालिका–९ स्थित ढकैला गाउँमा स्थापना भएको आपूर्ति प्रणाली मंगलबार आयोजित एक कार्यक्रम बिच समुद्घाटन तथा हस्तान्तरण गरिएको हो । विश्व प्रसिद्ध यामाहा प्रविधिको सो प्रणाली दक्षिण एसियामै पहिलो पटक ग्रामिण क्षेत्रमा स्थापना भएको छ ।

दातृ निकायले गरेको मानवीय सहयोगका लागी बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले धन्यवाद दिए । नगरपालिकाले पूर्ण स्वामित्व ग्रहण गर्दै आगामी दिनमा शुद्ध खानेपानी आपूर्ति प्रणालीको दिगो व्यवस्थापन तथा सन्चालनको लागी आवश्यक सहयोग गर्ने समेत नगर प्रमुख थारुले प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै प्रणाली स्थापनाका लागी स्थानीय नगरपालिकाको सक्रियता र समन्वयका लागी स्थानीय साझेदार संस्था इनरुडेकका अध्यक्ष धर्मलाल रोकायाले धन्यवाद ज्ञापन गरे ।

बारबर्दिया नगरपालिका–९ स्थित ढकैला गाउँमा आयोजित समुदघाटन समारोह स्थानीय खानेपानी तथा सरसफाई समितिका अध्यक्ष हरिश चन्द्र शाहको अध्यक्षता तथा नगर प्रमुख छविलाल थारुको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । समुद्घाटन कार्यक्रममा आड्रा नेपालका कार्यक्रम निर्देशक डा.घनश्याम कुमार भट्टले मानव जीवनमा शुद्ध पानीको महत्वबारे प्रकाश पारेका थिए ।

परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा आड्रा नेपालद्वारा स्थानीय साझेदार संस्था इनरुडेक संगको सहकार्यमा बर्दिया जिल्लामा कार्यान्वयन भईरहेको स्वास्थ्य सबलीकरण परियोजनाको सहयोगमा बारबर्दिया नगरपालिकामा सो शुद्ध खानेपानी आपूर्ति प्रणालीको स्थापना भएको परियोजना संयोजक तर्क बहादुर थापाले बताए । साथै समुदघाटन तथा हस्तान्तरण कार्यक्रमको संचालन तथा सहजीकरण समेत संयोजक थापाले गरेका थिए ।

समुदघाटन समारोह कार्यक्रममा बारबर्दिया नगरपालिका–९ का अध्यक्ष देवेन्द्र कुमार बिस्ट, आड्रा नेपालका देशीय निर्देशक टम पिग्नन, आड्रा जापानका देशीय निर्देशक याशुकी आवकी तथा यामाहा जापानका जनरल म्यानेजर इवाई यासुशी लगाएतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर