लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासनको एकबद्धता
मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित

बर्दिया,चैत २०(फरकसमाचार)/ गुलरियामा लागु औषध दुर्व्यसनी सचेतिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । गुलरिया नगरपालिका–५ को आर्थिक सहयोग र सत्मार्ग परामर्श एवं पुर्नस्थापना केन्द्रको आयोजनामा सोमबार लागु औषध दुर्व्यसनी सचेतिकरण कार्यक्रम गरिएको हो ।

जिल्लामा लागु औषध सेवन कर्ताको बिगबिगी भएको सत्मार्ग परामर्श एवं पुर्नस्थापना केन्द्र गुलरियाका अध्यक्ष मोहित पौडेलले बताए । ‘लागु औषधका कारणले समाजमा विकृती फैलिएको छ’अध्यक्ष पौडेलले भने,‘लागु औषधका सेवन कर्ताले गर्दा समाजमा कलह बढेको छ ।’ चोरीलगायत अनेकौं अपराधका घटना बढेका छन् ।

लागु औषधका सेवनकर्तालाई कसरी उपचार, परामर्श र पुर्नस्थापना गर्ने उदेश्यले अभिभावकहरुसंग समन्वय गरि सत्मार्ग परामर्श एवं पुर्नस्थापना केन्द्रले विगत तीन वर्ष देखि अभियान चलाएको अध्यक्ष पौडेलले सुनाए । यस अघि सचेतनाको लागि सडक नाटक र विद्यालयमा सचेतनामुलक कार्यक्रम गरेका छौं । लागु औषध न्युनिकरण गर्न एक्लो संस्थाले सक्दैन । त्यसैले अभियान अभियानमा जुट्न सबैलाई अध्यक्ष पौडेलले आग्रह गरे ।

लागु औषध न्युनिकरणको लागि सत्मार्ग परामर्श एवं पुर्नस्थापना केन्द्र खेलेको भुमिका प्रशंसनिय रहेको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताए । ‘युवा वर्ग लागु औषध दुर्व्यसनीमा फस्दै गएका छन्’प्रजिअ खरेलले भने,‘लागु औषध न्युनिकरणको लागि सबै जना सचेत हुन जरुरी छ ।’ वडा नंं ५ को यो सानो सहयोगले ठुलो उपलब्धी हुनेछ । सरकारी गैरसरकारी संस्थासंग समन्वय गरेर अघि बढ्न सुझाए । केन्द्रको अभियानमा प्रहरी प्रशासनको एकबद्धता रहने प्रजिअ खरेलले विश्वास व्यक्त गरे ।

युवाहरुलाई लागु औषध बारे सचेत गराउने उदेश्यले कार्यक्रम तयार गरिएको गुलरिया नगरपालिका–५ का वडा अध्यक्ष मुम बहादु मल्लले बताए । ‘एकल प्रयासले लागु औषध न्युनिकरण गर्न सकिदैन’अध्यक्ष मल्लले भने,‘यो सामाजिक रोग हटाउन सबैले हातेमालो गर्नुपर्छ ।’

अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी उपरीक्षक प्रबिण धिताल, सशस्त्र प्रहरी उपरीक्षक चित्राङगत दाहाल, राष्ट्रिय अनुसन्धान प्रमुख पवन जोशी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रेबिका अमात्य, बर्दिया अस्पतालका डाक्टर आरिफ हास्मी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, गुलरिया नगरपालिका–६ का अध्यक्ष शुधांसु प्रकाश शर्मा लगायत गुलरिया नगरपालिका वडा नं. ५ का सर्वसाधारणको उपस्थिती रहेको थियो । अन्तरक्रिया कार्यक्रम संचालन शोभाकान्त पौडेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर