बर्दिया अस्पतालमा हेमोडायलाईसिस सेवा सुरु : पहिलो दिनमै मिर्गौलाका दुई बिरामीले लिए सेवा
बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १२(फरकसमाचार)/ बर्दिया अस्पतालमा मिर्गौला रोगीहरुका लागि हेमोडायलाईसिस सेवा सुरु भएको छ । अस्पतालमा मंगलबार देखि हेमोडायलाईसिस सेवा शुभारम्भ भएको हो । अस्पतालमा हेमोडायलाईसिस सेवा सुचारु भएको पहिलो दिनमै दुई जना मिर्गौलाका बिरामीले सेवा लिएका छन् । सेवा सुचारु भएको पहिलो दिनमा गुलरिया नगरपालिका–९ का सिताराम चौधरी र भिम बहादुर सुनारले अस्तालमा हेमोडायलाईसिस सेवा लिएका छन् ।

यस अघि जिल्लामै हेमोडायलाईसिस सेवा नहुँदा मिर्गौला रोगीहरुलाई अन्यत्र जिल्ला धाउनु पर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ । अब मिर्गौलाका बिरामीले आफ्नै ठाउँमा सेवा लिन पाउने छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले मंगलबार बर्दिया अस्पतालमा हेमोडायलाईसिस सेवा समुद्घाटन गरेका छन् । हेमोडायलाईसिस सेवा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तीन प्रकारका इन्जिनियर हुने गरेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले बताए । ‘भौतिक पुर्वाधार बनाउने, समाज बनाउने र मान्छेको मर्मत गर्ने इन्जिनियर हुने गर्छन्’मन्त्री पुनले भने,‘हाम्रो देशमा तीनै क्षेत्रका इन्जिनियरहरु त्यति सफल भएको मानिदैन ।’ किन असफल भएको समिक्षा गर्दै अघि बढ्नु पर्ने सुनाए ।

पुँजीहरुको पुँजी मानविय पुँजी हो । मानविय पुँजी भएन भने भौतिक पुँजीको कुनै अर्थ नहुने मन्त्री पुनले भनाई राखे । मानविय पुँजी निर्माण गर्न स्वास्थ्यकर्मीको महत्वपुर्ण भुमिका हुने गरेको मन्त्री पुनले बताए । ‘म जस्तो मन्त्री तपाई स्वास्थ्यकर्मीहरु बन्न सक्नु हुन्छ’मन्त्री पुनले भने, ‘तर तपाई स्वास्थ्यकर्मीहरु जस्तो म बन्न सक्दैन ।’ स्वास्थ्यकर्मीहरुको जिम्मेवारी महत्वपुर्ण मानिन्छ ।

स्वास्थ्य तर्फको इन्जिनियर(स्वास्थ्यकर्मी)ले लापरवाही गर्यो भने बिरामीको तत्काल ज्यान जान सक्छ । त्यसैले स्वास्थ्यकर्मीहरुको गहन र महत्वपुर्ण जिम्मेवारी हुने सुनाए । बर्दिया अस्पतालको सेवा प्रभावकारी बनाउन एक्लै अस्पतालले सक्दैन । अस्पतालको सेवा प्रभावकारी बनाएर जिल्लाको बिरामी जिल्लाकै अस्पतालमा रोक्न सबैले सघाँउनु पर्छ । अस्पतालमा सुचारु भएको हेमोडायलाईसिस सेवालाई प्रभावकारी र दिगोपन बनाउन सबैले हातेमालो गर्नुपर्ने मन्त्री पुनको भनाई छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट चार र स्वास्थ्य विभागबाट एउटा गरि पाँच वटा हेमोडायलाईसिस मेशिन प्राप्त भएको बर्दिया अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले जानकारी दिए ।

हेमोडायलाईसिस समुद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगर, सचिव डा. जनार्दन पन्थी, लुम्बिनी प्रदेश आन्तरिक मामिला,कानुन तथा संचार पुर्व मन्त्री तिलक शर्मा, प्रदेश सांसद भुनेश्वर चौधरी, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्रहरी उपरीक्षक प्रबिण धिताल, बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डेय, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर