तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद
शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित

हेटौँडा, फागुन १६ : जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ । अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष ६ महिना कैद सजायसहित ४० हजार जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा तेजाब प्रहार गरेका थिए । प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए । वीरगञ्ज हुँदै भारत भागेका उनीलाई ६ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो । आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहेकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर