‘स्वास्थ्यमा सबैको पहुँच पुग्नुपर्छ’
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

कञ्चनपुर, फागुन १७ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकाले सबैको पहुँच पुग्नुपर्ने बताए ।

शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरको आज उद्घाटन गर्नुहुँदै उनले स्वस्थ्य समाज निर्माण भएमात्रै जनता सुखी हुने र विकासका कार्य सहजरुपमा अगाडि बढ्ने बताए ।

‘बाजे बराजुकोपालामा मस्तिष्कघात, मिर्गौला फेल, मुटको समस्या भएका बिरामी नगन्यमात्रामा हुने गरेका थिए’, उनले भने, ‘हाल यिनै रोगका कारण अधिकांश बासिन्दा पीडित भएका छन्, त्यो सबै तरकारी लगायतको बालीमा किटनाशकको अनावश्यक प्रयोगले भएको छ, साठी प्रतिशतमा शुद्ध खानेपानीको अभाव र किटनाशकको प्रयोगले घातक रोग निम्तिने गरेको पाइएको छ ।’

विश्वभरि अहिले कोरोना भाइरसको सन्त्रास फैलिएको चर्चा गर्नुहुँदै उनले त्यसबाट बच्नका लागि सावधानी अपनाउनुपर्ने बताए । फरक प्र्र्रसंगमा उनले जिल्लामा पछिल्ला दिनमा हत्या हिंसाका घटना बढेका उल्लेख गरे । अपराधीलाई उन्मुक्ति दिने प्रवृत्तिका कारण हत्या हिंसाले प्रश्रय पाएको उनको जिकिर थियो ।

नगरप्रमुख दिलबहादुर ऐरले निर्वाचित भएर आएपछि जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याएको बताए । उनले नगरभित्रका आठवटै स्वास्थ्य संस्थामा चौबिस घण्टे प्रसूति सेवा पुर्याइने जानकारी गराए । नगर अस्पताल निर्माणका लागि संघीय सरकारबाट २५ लाख बजेट विनियोजन भएर आएकाले तत्कालै अस्पताल भवन निर्माणको कार्य अगाडि बढाइने उनले बताए ।

शिविरमा पेट, छाती, मिर्गौला, स्त्री रोग र आँखाका बिरामीको उपचारका लागि चिकित्सकको व्यवस्था गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । शिविरमै निःशुल्करुपमा औषधि उपलब्ध गराउने कार्यसँगै निःशुल्क प्रयोगशाला सेवासमेत प्रदान भइरहेको छ । वडाको वार्षिक कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर