बर्दिया, पौष १३ / मधुवन नगरपालिकाका जनप्रतिनिधिहरुसंग संरक्षण संवाद तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । मधुवन नगरपालिका तथा तराई भू–परिधि तथा संरक्षण कार्यक्रम बाँकेको आर्थिक सहयोग, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा सहकार्य र खाता सामुदायिक वन समन्वय समितिको आयोजनामा शनिबार मधुवन नगरपालिका–१ डल्ला स्थित जनप्रतिनिधिहरुसंग संरक्षण संवाद कार्यक्रम गरिएको हो ।
खाता सामुदायिक वन समन्वय समितिको कार्यक्षेत्र वडामा पछिल्लो समयमा वन्यजन्तुको व्यवहार सम्बन्धि स्थानीयलाई सचेत गराउँदा मानविय क्षति कम हुँदै गएको देखिएको छ । वन्यजन्तुले आफ्नो व्यवहार परिर्वतन गर्न सक्दैन तर, मानवले आफ्नो व्यवहार परिवर्तन गरी केही हदसम्म द्वन्द्व न्युनिकरण गर्न सकिने छलफल गरिएको छ ।
प्रकृतिमा रहेका सबै प्राणीको अस्तित्व स्वीकार गर्नु हाम्रो दायित्व रहेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । ‘प्रकृतिको संरक्षण गरिरहँदा सकारात्मक पक्षसंगै नकारात्मक पक्षबाट जिल्लावासी पीडित भईरहेको अवस्था छ,’प्रजिअ हमालले भने,‘प्रकृतिमा बस्ने वन्यजन्तलाई संरक्षण गर्दै आगामी दिनमा मानवलाई कसरी संरक्षण गर्न सकिन्छ,यस छलफलले सहजता मिल्नेछ ।’
मानव र वन्यजन्तु बिचको द्वन्द्वलाई न्युनिकरण गरि सह–अस्तित्व कायम गर्ने उदेश्यले मधुवन सरकार अघि बढेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । ‘मानव र वन्यजन्तुको द्वन्द्व न्युनिकरण गर्न हामीले संरक्षण गर्ने कार्यालयलाई मात्र गाली गरेर समस्या समाधान हुदैन,’नगर प्रमुख भाटले भने,‘त्यो समस्या समाधान गर्न अब जनप्रतिनिधि, संरक्षणकर्मी, संरक्षणसंग सम्बन्धित संघ संस्था र तीन वटै तहको सरकार मिलेर काम गर्न आवश्यक छ ।’ त्यसको लागि हामी जनप्रतिनिधिसमेत सचेत हुनुपर्यो, जसकारण पहिलो चरणमा कार्यापालिका सदस्य, वडा अध्यक्षलागयतलाई सचेत गराईएको नगर प्रमुख भाटले भनाई राखे ।
मधुवनका केही वडामा राहत भनेको के हो, वन्यजन्तुबाट जोगिन के गर्नुपर्छ जस्ता सामान्य जानकारी नभएको भेटिदाँ पालिका र साँझेदार निकायसंग समन्वय गरी यस कार्यक्रमको आयोजना गरिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताए । यस कार्यक्रममा सिकेका कुरा सहभागी जनप्रतिनिधिहरुले आफ्–आफ्नो वडाका वासीलाई सिकाउन अध्यक्ष गुरुङ्गले आग्रह गरे ।
उक्त संवाद कार्यक्रममा वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन तथा राहत वितरण सम्बन्धि डिभिजन वन कार्यालयका प्रमुज विजयराज सुवेदीले प्रस्तुतीकरण गरेका थिए । मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न हात्तीको व्यवहारको पारिस्थितिकी सम्बन्धमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले गरेका थिए । यस्तै मानव वन्यजन्तु सह अस्तित्वमा सुरक्षा र विमाको भुमिका सम्बन्धि उज्यालो नेपालका तर्फबाट रमेश थापाले प्रस्तुतीकरण गरेका थिए ।

