बर्दिया,माघ ५ / आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन क्षेत्र नम्बर २ बाट सुरेश पन्थलाई उम्मेदवार बनाएको छ । मधुवन नगरपालिका–४ का सुरेश पन्थलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आइतबार टिकट दिएका हुन्। यस्तै क्षेत्र नम्बर १ बाट वामदेव गौतमले चुनाव लड्ने चर्चा भए पनि अधिकारीक रुपमा टुङ्ग्गो लागेको छैन ।
पन्थ विसं २०७९ सालमा तत्कालीन एकीकृत माओवादीबाट बर्दिया–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए।
एमालेले बर्दियाको दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार टुग्याएको छ। एमालेले क्षेत्र नम्बर १ बाट शालिकराम अधिकारी र क्षेत्र नम्बर २ बाट विमला विकलाई उम्मेद्वार बनाएको हो।
अधिकारी एमाले बर्दियाका अध्यक्ष एवं बाँसगढी नगरपालिकाका पूर्वमेयर हुन् भने विक पूर्वमन्त्री हुन्। एमालेले क्षेत्र नम्बर १ बाट अधिकारीसहित ५ जनाको नाम सिफारिस गरेको थियो भने क्षेत्र नम्बर २ बाट विकसहित ५ जनाको नाम सिफारिस गरेको थियो।
यस्तै नेकपा (संयुक्त)ले बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट गुलरिया नगरपालिका–८ का ईन्द्रबहादुर रावल र क्षेत्र नम्बर २ बाट मधुवन नगरपालिका–४ की निता शर्मालाई अघि सारेको छ। कांग्रेसले आइतबार दिउँसोसम्म उम्मेद्वार टुंग्याएको छैन।

