अब आउने चुनाव कुनै साधारण मिति होइन। यो केवल भोट हाल्ने औपचारिकता पनि होइन । यो हाम्रो जीवन, हाम्रो सपना र हाम्रो सन्ततिको भविष्यसँग प्रत्यक्ष जोडिएको निर्णायक क्षण हो । यसपालि भोट हाल्नु भनेको कुनै पार्टीलाई जिताउनु वा हराउनु मात्र होइन, यो आफ्ना छोराछोरी, नातिनातिना र आउने पुस्ताको भविष्य बनाउने वा बिगार्ने फैसला हो ।
हामीले धेरै वर्षसम्म भोट हाल्यौं। पटक–पटक विश्वास गर्यौं। परिवर्तनको आशामा लाइनमा उभियौं। तर आज परिणाम के देखिरहेका छौं ? देशको अवस्था हेर्दा मन भारी हुन्छ। राज्यका हरेक अड्डा, अदालत, कार्यालय र सेवा प्रणाली राजनीतिक दलहरूको कब्जामा पुगेका छन्। सामान्य नागरिकको काम बिचौलिया बिना हुँदैन। कानून कागजमा छ, व्यवहारमा पहुँच र चिनजानले शासन गर्छ। न्याय पनि पैसा र शक्तिको तौलमा जोखिन थालेको छ।
राजनीतिक दलहरूले देश बनाउनेभन्दा आफ्नो संगठन बलियो बनाउने काम गरे । गाउँदेखि केन्द्रसम्म, विद्यालयदेखि अस्पतालसम्म, प्रशासनदेखि उद्योगसम्म दलको झन्डा गाडियो । योग्यभन्दा आफ्ना मान्छे अघि बढाइए। इमानदारहरू किनारामा परे, गलत गर्नेहरू शक्तिशाली बने। परिणामस्वरूप आज देश भ्रष्टाचारको दलदलमा डुबेको छ ।
यही कारण आज धेरै नेपालीले आफ्नो भविष्य नेपालमा देख्न सकेका छैनन्। युवा पुस्ता विदेशिन बाध्य छ । यो रहर होइन, बाध्यता हो। आफ्नै माटो, भाषा, संस्कृति र परिवार छोडेर कोही खुशीसाथ परदेश जाँदैन । यहाँ रोजगारी छैन, अवसर छैन, सम्मान छैन भन्ने पीडाले मानिसलाई देश छोड्न बाध्य बनाएको हो ।
विदेश पुगेपछि जीवन सजिलो हुन्छ भन्ने भ्रम पनि तोडिनुपर्छ। त्यहाँ दोस्रो दर्जाको नागरिक भएर बाँच्नुपर्छ । अपहेलना सहनुपर्छ । भाषा, संस्कृति र अधिकारका सीमाभित्र संघर्ष गरेर जीवन धान्नुपर्छ । यदि आफ्नै देशमा इमानदार श्रमको सम्मान भएको भए, परिवार पाल्न सक्ने काम पाउने अवस्था भएको भए, कोही पनि विदेशी हुने थिएन । घुम्न मात्रै जान्थ्यो, फर्केर आफ्नै देशमा गर्वका साथ बाँच्थ्यो ।
यही पीडाको विस्फोट केही समयअघि ‘जेन्जी आन्दोलन’को रूपमा देखियो । वर्षौंदेखि घुस, सिफारिस र अन्याय सहँदै आएका जनताको आक्रोश सडकमा पोखियो । त्यो आन्दोलन केवल नारा थिएन, त्यो जनताको चिच्याएको आवाज थियो । “अब धेरै भयो” भन्ने अन्तिम चेतावनी थियो । त्यही पृष्ठभूमिमा नयाँ पुस्ता उदाउँदै छ । राजनीति फोहोर हो भन्ने सोचलाई चुनौती दिँदै केही युवाहरू अघि बढिरहेका छन् । उनीहरू पुराना बहाना, पुराना शैली र पुराना संस्कारलाई प्रश्न गरिरहेका छन् । यो आशाको संकेत हो । किनकि पुराना राजनीतिक दलहरूबाट सुध्रिने कुनै संकेत देखिँदैन । उनीहरू अझै सत्ता कब्जा गर्नमै व्यस्त छन् । देश डुब्दा पनि कुर्सी छोड्न तयार छैनन् । जनताको समस्या सुन्नुभन्दा गुट, भागबण्डा र सौदाबाजीमै उनीहरूको ध्यान छ ।
अब फागुन २१ गते नयाँ चुनाव हुँदैछ। यो मिति सामान्य होइन । यो दिन हामीले केवल मतपत्रमा छाप लगाउने छैनौं, हामीले इतिहासमा आफ्नो जिम्मेवारी लेख्नेछौं । अब भोट हाल्नु भनेको भोट हाल्नु मात्रै होइन, आफ्नो सन्ततिको भविष्यमा लगानी गर्नु हो । अब सोचेर भोट हाल्नुपर्ने बेला आएको छ। भावनामा बगेर होइन, डरमा परेर होइन, पैसामा बिकेर होइन । कसले देशको कुरा गर्छ, कसले जनताको कुरा गर्छ, कसले जवाफदेहिता स्वीकार गर्छ, त्यसको आधारमा निर्णय गर्नुपर्छ । “हामी सधैं यिनैलाई भोट हाल्दै आएको हो” भन्ने सोच अब खतरनाक भइसकेको छ । यही सोचले देशलाई आजको अवस्थामा पु¥याएको हो ।
यदि आज पनि हामीले आँखा चिम्लेर गलतलाई साथ दियौं भने भोलि आफ्ना छोराछोरीले प्रश्न गर्नेछन्, “तपाईंहरू चुप किन बस्नुभयो ?” त्यो प्रश्नको जवाफ दिन सक्ने साहस हामीसँग हुनेछ कि छैन ? आजको हाम्रो निर्णयले भोलि पुस्ताहरूको जीवन निर्धारण गर्नेछ ।
लोकतन्त्रको शक्ति जनतासँग हुन्छ । तर त्यो शक्ति प्रयोग नगरेसम्म अर्थहीन हुन्छ। भोट हाम्रो आवाज हो । त्यो आवाज गलत हातमा प¥यो भने हामी नै दबिन्छौं। सही हातमा प¥यो भने परिवर्तन सम्भव हुन्छ ।
अब समय आएको छ, आफूलाई मात्र होइन, आफ्नो सन्ततिको भविष्य सम्झेर निर्णय गर्ने । आजको लापरबाही भोलिको पछुतो बन्न नदिनुहोस् । यसपालि भोट हाल्दा एकछिन रोकिएर सोचौं । यो छाप केवल कागजमा होइन, इतिहासमा लाग्दैछ । अब भोट हाल्नु भनेको हाम्रो सन्ततिको भविष्य बनाउने वा बिगार्ने हो। यही यथार्थ बुझेर, विवेक र साहसका साथ निर्णय गर्ने बेला आएको छ ।

