भक्तपुर, फागुन १७ : कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको आज स्वास्थ्य परीक्षण एवं नाक र घाँटीको स्वाब संकलन गरिएको छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ नेपाली र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाल वायुसेवा निगमको जहाजका चालकदलसहित १८ को क्वारेन्टाइनमा राखिएको आज १४औँ दिनमा नाक र घाँटीको स्वाब नमूना संकलन गरी परीक्षणका लागि पठाइएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका सहसेनानी डा नवीन फुँयालले जानकारी दिए ।
यसअघि यही ४ गते नै उनीहरूको नाक र घाँटीको स्वाब नमूना संकलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको र अन्तिमपटक आज फेरि सबैको राष्ट्रिय प्रयोगशालाको टोलीले नाक र घाँटीको स्वाब नमूना संकलन गरी परीक्षणका लागि लगेको उनले जानकारी दिए ।
संकलन गरिने स्वाब नमूना परीक्षणको रिपोर्ट आउन करिब तीन दिन लाग्ने भएकाले परीक्षणको रिपोर्टमा कोरोना संक्रमण भएको नदेखिएमा आगामी २१ गते उनीहरूलाई घर फर्काउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।