काठमाडौँ, फागुन १७ : उपराष्ट्रपति नन्दबहादुर पुनले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा तीन घण्टा विभिन्न देशका लोकनृत्य हेरे । एभरेष्ट नेपाल कल्चर ग्रुपले आयोजना गरेको ‘दशौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला’ उनले ११ देशका विभिन्न लोकनृत्य हेरे । करिब तीन घण्टासम्म बसेर उनले विभिन्न देशका लोकनृत्य हेरेका थिए ।
कुनै कार्यक्रमको उद्घाटन गरी हतारमा फर्कने उनी आज भने कार्यक्रम अवधिभर बसेर लोकनृत्यको मज्जा लिए । देशअनुसारको विभिन्न पहिरन सजिएका कलाकारको नाच देखेर उनी रमाए । एकपछि अर्को देशको लोकनृत्यले उनलाई तीन घण्टा तानेको थियो । मेलाको आजै उपराष्ट्रपति पुनले उद्घाटनसमेत गरे ।
मेलामा नेपालसहित इस्टोनिया, मेक्सिको, बंगलादेश, भारत, मलेशिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्टका लोकनाच देखाइएका थिए । ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रिय जगत्मा नेपालको लोककला र सांस्कृतिक परम्पराको आदान–प्रदान गर्नुको साथै नेपाललाई विश्व जनसमुदायमाझ आफ्नै सांस्कृतिक सम्पदाको धनी देशको रूपमा परिचित गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए ।
उनले मेलाले भ्रमण वर्षलाई सफल बनाउन भूमिका खेल्ने र नेपालको लोप हुँदै गइरहेको सांस्कृतिक सम्पदाको जर्गेना गर्ने बताए । मेलामा विभिन्न देशबाट आएका कलाकारले आफ्नो देशको वेषभूषामा लोकनृत्य प्रस्तुत गरेका थिए । मेलामा एभरेष्ट ग्रुपका कलाकार र नेपाल सांस्कृतिक मन्दिरका कलाकारले थाली, झ्याउरे र लाखेनाच प्रस्तुत गरेका थिए ।
यही फागुन २५ गतेसम्म सञ्चालन हुने मेला आइतबार वसन्तपुरमा सोमबार ललितपुरका विभिन्न विद्यालयमा र बुधबार पोखरामा समेत आयोजना गरिने ग्रुपका अध्यक्ष कोइरालाले जानकारी दिए । गु्रपले हरेक दुई–दुई वर्षमा सांस्कृतिक मेला आयोजना गर्ने गरेको छ ।