पोखरा, फागुन १९ : मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) गण्डकी प्रदेशले प्रदान गर्दै आएका हुर्जा मानवअधिकार पुरस्कारका पाँचवटै विधातर्फका प्रतिभा छनोट गरेको छ ।
सङ्घले यस वर्ष यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कारबाट क्होलासोंथर गाउँपालिका–९ गिलुङ लमजुङकी ८१ वर्षीया सानुमाया गुरुङलाई सम्मान गर्ने भएको छ । यस पुरस्कारका लागि प्रदेशस्तरमा ३५ दिने सूचना आह्वान गरिएकामा अनलाइन आवेदन दिएका तीन दर्जनमध्ये उत्कृष्टताका आधारमा गुरुङलार्ई छनोट गरिएको प्रतिभा छनोट समितिका संयोजक कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिए । पुरस्कारको राशि १५ हजार १५, सम्मानपत्र र दोसल्ला रहेको छ ।
त्यस्तै मानवअधिकार पत्रकारिता पुरस्कारबाट मादी गाउँपालिका–४ निवासी अधिकारकर्मी श्रीकान्त सापकोटालाई सम्मान गरिने भएको छ । यसको राशि ११ हजार १११ नगद, सम्मानपत्र र दोसल्ला रहेको छ । त्यस्तै मानवअधिकार समाजसेवी पुरस्कारबाट पोखरा महानगरपालिका–१९ का चन्द्रबहादुर गुरुङ र बालअधिकार पुरस्कारबाट पोखरा–१९ की एलिना श्रेष्ठ सम्मानित गरिने महासचिव वीरेन्द्र श्रेष्ठले जानकारी दिए । यी दुवै पुरस्कारको राशि ११ हजार एक १११ नगद सम्मानपत्र र दोसल्ला छ ।
हुर्जाले अधिकारका क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएका संस्थालाई प्रदान गरिने संस्थागत सम्मान सयपत्री समाज नेपाललाई प्रदान गर्ने भएको छ । यी पाँचवटै पुरस्कार यही फागुन ३० गते पोखरामा हुने हुर्जा गण्डकीको चौंथो अधिवेशनका अवसरमा प्रदान गरिने संस्थाका निर्देशक कृष्ण अञ्जान ज्ञवालीले जानकारी दिए ।