धादिङ, फागुन १९ : छेउछाउका घरहरू पक्की अवस्थामा छन् । सपना तामाङको घर पुग्दा उनीहरू एउटा खोरमा भोकै बसेको अवस्थामा भेटिए । कालो भएको जस्ताको टहरोमा जीवन गुजारा गरिरहेका सपनाका हजुरबुबा र बहिनी समस्याग्रस्त जीवन बिताइरहेका छन् ।
धुनीबँेसी नगरपालिका ढकालखोला निवासी ११ वर्षीया सपनाले पेटभरि भात नखाएको आठ वर्ष भयो । ज्यान मुद्दा लागेर सपनाका बाबु जेलमा छन् । त्यतिखेर सपना सानै भएकाले कसरी घटना भयो थाहा भएन तर बाबु जेलमा परेपछि आमा पनि जेल परे । केही समयपछि आमाले सफाइ पाएर छुटिन् । बाबु नभए पनि सहाराका रुपमा आमा छन् भन्ने आशामा बसेकी सपना तामाङ घर फर्केको केही समयपछि आमाले घर छाडेर अर्कैसँग विवाह गरेर गएपछि सपनाको सहारामात्र हराएन जिम्मेवारीसमेत थपियो ।
सपनासँगै एक वर्षमात्र सानो बहिनी विपना अहिले १० वर्षकी भइन् । उनैले हेर्नुपर्ने भयो । उनीहरू सानै भएकाले बाबुआमाले ज्याला गरेर ल्याएर परिवार पाल्दै आएका थिए । गरिबीले गाँजेको परिवारमा सबैभन्दा बढी समस्या पर्ने गर्छ भने झँै सपना र विपनाको सहारा अहिले ७५ वर्षका हजुरबुबा जेठा तामाङमात्र छन् । घरमा खाने अन्न छैन । पुरानो र कालो भइसकेका पकाउने भाडा अनि अँगेनाको छेउमा ओछ्यान बनाएर सुत्ने गरेको सपना र विपना हजुरबुबाको वृद्ध भत्ताले किनेको चामल बचाई बचाई खान्छन् ।
योभन्दा बढी अब उनीहरूसँग कुनै आम्दानी छैन । कुनै समय वृद्ध भत्ता ढिला आयो भने कैयाँै दिनसम्म उनीहरू भोकै बसेका र छिमेकीले खानेकुरा दिने गरेका सपनाले भक्कानिएर भनिन् । विद्यालय जानका लागि पोसाक पुरानो भएको छ । यसबाहेक लगाउने लुगा उनीहरूसँग एक जोर त्यो पनि ज्यादै पुरानो छ । खाना खाने भाँडासमेत छैनन् । पकाउने भाडा कालो भएर प्वाल पर्न लागेका छन् ।
यो अवस्था देख्दा सम्बन्धित निकायको ध्यान किन नगएको होला भनी प्रश्न गर्दै सपनाले अध्ययन गर्ने विद्यालय त्रिकुटेश्वरी आधारभूत विद्यालयका शिक्षक सरस्वती रिमालले आफूले सकेको सहयोग उपलब्ध गराउने बताए । ‘मेरो विद्यालयको एउटा विद्यार्थी भोकै बसेको म कसरी हेर्न सक्छु, म केही सहयोग गर्ने छु’, रिमालले भने ।