‘स्वास्थ्यका नक्षेत्र डा दीर्घसिंह बम’ कृति लोकार्पण
बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २२ : वरिष्ठ छाती रोग विशेषज्ञ डा दीर्घसिंह बमको बहुआयामिक व्यक्तित्व र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको ‘स्वास्थ्यका नक्षेत्र डा दीर्घसिंह बम’ कृति सार्वजनिक गरिएको छ ।

घोस्ट राइटिङ नेपाल र जनविचार पब्लिकेसन एण्ड रिसर्च सेन्टरद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्दबहादुर चन्दले उक्त कृतिको लोकार्पण गरेका हुन् । लेखक तथा संकलन गोविन्द दुलाल रहनुभएको उक्त पुस्तकको सम्पादन वरिष्ठ पत्रकार टंक पन्तले गरेका छन् ।

पाँच खण्डमा विभाजन गरिएको उक्त पुस्तकको पहिलो खण्डमा अरुको आँखामा डा बम, दोस्रोमा संक्षिप्त जीवनी, विभिन्न कालखण्डमा व्यक्त गरेका मन्तव्य, चौथोमा योगदानसम्बन्धी समाचार एवं अन्तरवार्ता र पाँचाँै खण्डमा तस्वीर, सम्मान र अभिन्दन समावेश गरिएको छ ।

उक्त कृतिको लोकार्पणपछि पूर्वप्रधानमन्त्री चन्दले सरल स्वभाव, मृदुभाषि र बिरामीप्रति समर्पित भएकै कारण नेपाली चिकित्सा क्षेत्रमा डा बम लोकप्रिय बन्न सफल भएको बताए । उनले भने, ‘अरुको दुःख बुझ्ने मात्र होइन, महसुस गरेर उपचारमा संलग्न हुने डा बलले अघि बढाउन भएको चिकित्सको प्रत्यक्ष निगरानीमा क्षय रोगको औषधि खाने डट्स् कार्यक्रम विश्वमै लोकप्रिय बन्न सफल भयो, जुन हाम्रो मुलुकका लागि गौरवको विषय हो ।’

‘हात मिलाउने होइन, नमस्कार संस्कार बसालौँ’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले समाज, दुनियाँ र सबै वर्ग समुदायलाई नजिकबाट चिन्नुभएका सरल स्वभावका डा बम जनताका निम्ति आवश्यक परेको खण्डमा कठोर ढंगबाट प्रस्तुत हुने गरेको दृष्टान्त सुनाए ।

सो अवसरमा उनले चीनको वुहानबाट फैलिरहेको कोरोना भाइरसबाट बच्न आपसमा हात मिलाउने होइन, नमस्कार गर्ने संस्कार बसाल्न सुझाव दिए । पूर्वप्रधानन्यायाधीश हरिप्रसाद शर्माले बिरामीको उपचारमा सधैँ तल्लीन सरल स्वभाव र मृदुभाषी डा बम समाजसेवा, साहित्य र स्वास्थ्य क्षेत्रको बहुआयामिक तथा गौरव गर्न लायक नाम भएको बताए ।

पुस्तकका समीक्षक एवं पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले क्षयरोगका कारण मृत्युका मुखमा पुगेका बिरामीलाई पुनर्जिवन दिएर दूरदराजका नेपाली जनताका बीचमा देवताका रुपमा पुजिँदै आएका घटना र डा बमको बहुआयमिक व्यक्तित्वबारे पुस्तकमा विभिन्न पाटो पक्षबाट विश्लेषण गरिएको जानकारी गराए ।

स्रष्टा डा बमले असल कर्म धर्म हो, अरुलाई दुःख दिनु पाप हो भन्ने भावनाबाट बिरामीको सेवा गर्दै आएको जानकारी दिँदै भने, ‘बिरामी जाँच्दा जाँच्दै मर्न पाउँ भन्ने मेरो अन्तिम इच्छा छ ।’ प्रकाशक संस्थाका अध्यक्ष कमल ढकाल, पुस्तक लेखक दुलाल र सम्पादक पन्तले डा बमले क्षयरोग नियन्त्रण तथा निवारणका लागि अघि बढाउनुभएको प्रयासलगायत उनको जीवनी र व्यक्तित्वबारे आम मानिसको बुझाइलाई समेटेर प्रकाशित गरिएको पुस्तक भाविपुस्ताका लागि मेहनत गर्न र असल मार्गमा हिँड्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । चार सय ८० पृष्ठको उक्त पुस्तकको मूल्य ८०० राखिएको छ । समारोहमा डा बमको गीति एल्बम ‘दुनियाँ’को विमोचन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय