धनुषा, फागुन २२ : मुख्यमन्त्री लालबाबु राउतले युवालाई सीप र रोजगारी उपलब्ध गराउनु आजको प्रमुख आवश्यकता भएको बताएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जासम्बन्धी प्रदेशस्तरीय कार्यशालाको उद्घाटनमा मुख्यमन्त्री राउतले मानव संशाधन सबैभन्दा ठूलो शक्ति भए पनि त्यसलाई मुलुकले अहिलेसम्म परिचालन गर्न नसकेको बताए । उनले युवालाई सीप र रोजगारी दिन सके समृद्धि सम्भव हुने विश्वास व्यक्त गरे ।
युवालाई सीपयुक्त बनाउन प्रदेश सरकारले प्राविधिक विश्वविद्यालयको अवधारणा अघि बढाएको बताउँदै मुख्यमन्त्री राउतले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिएको बताए । स्वारोजगारका नाउमा उपलब्ध गराइने ऋण लिने प्रक्रिया झन्झटिलो भएकाले लक्षित वर्गसम्म सुविधा पुग्न नसकेको टिप्पणी गर्नुहुँदै उनले स्वरोजगारको लागि दिइने कर्जाको प्रक्रिया सहज गर्न कोषलाई सुझाव दिए ।