‘महिला सहभागिता सुनिश्चित गर्नुपर्छ’
बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित

काठमाडौँ, फागुन २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चितताका लागि सबै राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्ने बताएका छन् । एक सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ महिला समितिद्वारा आज यहाँ आयोजित ‘महिला पत्रकार सांस्कृतिक महोत्सव’मा उनले स्थानीय तहदेखि सङ्घीय शासन प्रणालीसम्म महिला नेतृत्व स्थापित गर्न पहलकदमी हुनुपर्नेमा जोड दिए ।

सामाजिक र आर्थिक परिवर्तनसँगै विभेद र असमानता पनि क्रमशः कम हुँदै गइरहेको उल्लेख गर्दै पर्यटनमन्त्री भट्टराईले भने, ‘महिला अधिकारको संवैधानिक सुनिश्चितता भएको छ । नेपालको संविधान लोकतान्त्रिक मात्र नभई समावेशी सिद्धान्तको हिसाबले उत्कृष्ट बनेको छ ।’

फरक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भट्टराईले पार्टी नेतृत्वलाई कमजोर तुल्याउन जबर्जस्त नकारात्मक प्रवृत्ति देखापरेकामा चिन्ता व्यक्त गरे । उनले काल्पनिक कथा रचेर मुलुकको नेतृत्वलाई कमजोर पार्ने खेलले अति दक्षिणपन्थी सोचयुक्त अवस्थामा देशलाई पुनः धकेल्ने खतरा औँल्याए । उनले भने, ‘अहिले सामाजिक सञ्जाल या सञ्चारमाध्यममा पार्टी नेतृत्वमाथि विभिन्न किसिमको प्रचारबाजी भइरहेको छ, राजनीतिभित्र सङ्घर्ष हुन्छ नै, देशमा ७० वर्षभन्दा बढी राजनीति गरेर नेतृत्व दिइसकेका नेकपा र काँग्रेसजस्ता ठूला राजनीतिक शक्तिमाथि नै धावा बोल्ने गरी केही भीडबाट उठेका व्यक्ति सल्बलाउँदैछन्, भीडमा देखिएको अराजकतालाई चिर्न सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्नका लागि सरकार र सरोकारवालालाई खबरदारी गर्न सञ्चारमाध्यमले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हिजो चुनौतीपूर्ण अवस्थामा पनि महिला पत्रकारले आफूलाई सशक्तरूपमा प्रस्तुत गरेर आजको परिवर्तन आएको हो । महिला पत्रकार सिङ्गो महिला आन्दोलन पनि भएकाले राष्ट्रहित र जनहितको पक्षमा निरन्तर कलम चलाउन जरुरी छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता जगत्मा महिला सहभागिता अभिवृद्धिका लागि महासङ्घले विभिन्न भूमिका निर्वाह गर्दै आएको बताए । जनगायक जेबी टुहुरे, जीवन शर्मा तथा चेतन सापकोटा, धीरज राई, सीता आचार्यलगायत कलाकारले साङ्गीतिक प्रस्तुति दिएको थियो ।

सोही कार्यक्रममा पत्रकारिता क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान गर्ने महिला पत्रकारलाई सम्मान गरिएको थियो । राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला आचार्य, गोरखापत्र संस्थानका प्रबन्ध सम्पादक हरिकला अधिकारी, सञ्चारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्मालगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी फोटो पत्रकारितामा योगदान दिएवापत राससका चन्द्रकला क्षेत्रीलगायत सम्मानित हुनुभयो । त्यस्तै सगरमाथा आरोहण गर्ने महिला पत्रकार राससकै रोशा बस्नेत, कल्पना महर्जनलगायतलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय