बागलुङ, फागुन २५ : अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको समापन समारोह चलिरहेको थियो । उद्घोषकले राष्ट्रगानको सम्मान गर्न आग्रह गरे । अघिपछिझैँ ‘रेकर्ड’ भएको राष्ट्रगान बजाइएन । राष्ट्रगान गाउन गायक रामजी नेपाली मञ्चअघि उभिए ।
नेपालीले गाउन शुरु गरेसँगै अतिथि र सहभागीले एकसाथ स्वर मिलाए । राष्ट्रगान सकियो । राष्ट्रगानको सम्मानमा उभिएका कोही पनि बसेनन् । नेपालीले जापानको राष्ट्रगान गाउन शुरु गरे । मञ्चमै रहेका जापानका मूर्तिकार जुनिचिरो सुगीमोतोले नेपालीसँगै गाए ।
कार्यशालास्थलमा फहराइएको जापानको झण्डा हेरे । देशप्रति सम्मान देखाए । नेपालीले जापानपछि, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान र भारतको राष्ट्रगान गाए । कार्यशालामा सहभागी सम्बन्धित देशका मूर्तिकारले गायक नेपालीसँगै राष्ट्रगान गाए । देश सम्झिए ।
समारोहमा रहेका सबै अतिथि, दर्शकले बाहिरी देशका राष्ट्रगान गाउँदा उभिएरै हार्दिकता जनाए । सद्भाव देखाए । नेपालीको राष्ट्रगान गाउने कलाबाट प्रभावित भए । गलकोट नगरपालिका–५ टेउवामा बुधबार आयोजित कार्यशालाको समापन समारोह गायक नेपालीको प्रस्तुतिले रोचक बन्यो ।
गायक नेपाली राष्ट्रगान गाउनकै लागि टेउवा पुगेका थिए । कार्यशालाको आयोजक गलकोट कला प्रतिष्ठानले पनि सहजरूपमा उनीलाई समय दियो । यही फागुन ५ गतेदेखि शुरु भएको कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी थिए । विदेशी मूर्तिकारको सम्मानका लागि उनीहरूकै देशको राष्ट्रगान गाएको नेपालीले बताए । गायक नेपालीले विदेशी मुलुकका राष्ट्रगान गाएको यो पहिलोपटक भने होइन । सन् २०१५ देखि उनी विभिन्न २५ देशका राष्ट्रगान गाउँदै ‘विश्व यात्रा’मा निस्केका छन् ।
‘विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित राष्ट्रगान गाउँदै हिँडेको छु’, उनले भने, ‘सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य छ ।’ ‘विश्व यात्रा’को समापन सगरमाथा आधार शिविरमा गर्ने उनको सपना छ । गायक नेपालीका अनुसार विश्वमा आफ्नो छुट्टै राष्ट्रगान भएका देश जम्मा १९४ छन् ।
यात्राकै क्रममा गायक नेपाली भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डस पुगिसक्नुभएको छ । यो वर्ष श्रीलंका, माल्दिभ्स, बंगलादेशलगायतका देश घुम्ने योजना छ । उनले भारतका सात वटा प्रान्तमा पुगेको बताए । ‘चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म पुगेँ, अघिल्लो महिना सिलगुढी थिएँ, कोरोनाको प्रभावले नेपाल फर्किएँ’, नेपालीले भने ।
बागलुङ नगरपालिका–६ भिरलांखुरीमा जन्मेका उनले यात्राका सिलसिलामा नेपालकोसँगै सम्बन्धित देशको राष्ट्रगान गाउनुहुन्छ । ‘औपचारिक, अनौपचारिक दुवैरूपमा गाउँदै हिँडेको छु, उस्तै कार्यक्रम पर्दा धेरै देशको पनि गाउनुपर्ने हुन्छ’, उनले भने ।
नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यले विश्वयात्रामा निस्केको नेपालीको भनाइ छ । ‘संसारका सात अर्ब ७० करोड मानिसलाई एकपटक नेपाल आउनुस्, घुम्नुस् भन्न चाहान्छु’, उनले भने, ‘नेपालमा सधँै पर्यटन भन्ने मेरो आदर्श वाक्य छ, मेरो यात्राले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास छ ।’
बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी बोकेर ‘विश्व यात्रा’ गर्न पाउँदा गौरवबोध हुने गरेको गायक नेपालीको भनाइ छ । अहिलेसम्म कतैबाट कुनै सहयोग नलिई आफ्नै खर्चमा देश–विदेश पुगेको उनको भनाइ छ । ‘पछि सहयोगको माहोल पनि बन्ला गर्दै जाऔँ, हेर्दै जाऔँ’, नेपालीले भने ।
४० वर्षीय उनी नेपाली सांगीतिक क्षेत्रको कुशल सर्जक पनि हुन् । झण्डै २५ वर्ष गायन र संगीतमा बिताएको उनको भनाइ छ । उनीका ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भिरको टुनी’लगायत गीत सार्वजनिक छन् । ‘अहिले पनि म संगीतबाट टाढा छैन, विधामात्रै फेरिएको हो’, उनले भने, ‘बिहानदेखि राति अबेरसम्मै म नयाँ–नयाँ देशका राष्ट्रगान गाउन सिकिरहेको हुन्छु ।’ उनले ‘गुगल’, ‘युट्युव’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोज्नुहुन्छ । आवश्यक पर्दा दूतावासबाट समेत सहयोग लिने गरेको उनको भनाइ छ ।
भाइचारा र विश्वबन्धुत्वको सन्देश बोकेर ‘विश्व यात्रा’मा हिँडेका नेपाली हालै नवलपुरमा रहेको धार्मिकस्थल ‘शास्वत धाम’को सद्भावना दूतमा नियुक्त भएका छन् । नेपालीका बुबा, आमा, श्रीमती र छोरी छिन् ।