हिमपातले विकास निर्माण प्रभावित
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

रुकुम (पूर्व), फागुन २५ : रुकुम (पूर्व) का विभिन्न क्षेत्रमा हिमपातका कारण विकास निर्माणका काम प्रभावित भएका छन् । माथिल्लो भेगमा रहेका तीन स्थानीय तहमा हिमपातका कारण विकास निर्माणका काम प्रभावित भएका हुन् । पुथाउत्तरगंगा गाउँपालिकाका तकसेरा, हुकाम, मैकोट, पिपलतुङ, घुम्लिबाङ, पेल्मा, तुफादम्चनलगायत ठाउँका बस्ती हिउँले ढाकिएका छन् । त्यसैगरी भुमे गाउँपालिका–१ को माथिल्लो क्षेत्र मारिङ र सिस्ने गाउँपालिकाका वडा नम्बर १, २ र ४ मा माथिल्ला बस्ती तथा क्षेत्रका ठाउँ पनि हिउँले ढाकिएका छन् ।

 

जिल्लाका आधाभन्दा बढी बस्ती हिउँले ढाकिएपछि गाउँपालिका, गैरसरकारी संस्था र अन्य निकायबाट हुने विकास निर्माणका काम अवरुद्ध भएका हुन् । बाक्लो हिउँ जमेपछि बाटो, खानेपानी, मठमन्दिर निर्माण, पुल, भवन निर्माणलगायतका योजना सञ्चालन गर्न कठिनाइ भएको छ ।

 

जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगभग चैतको आधा महिनासम्म पनि काम अगाडि बढाउन मुस्किल हुने पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । हिमपातले असर नगर्ने जिल्लाको तल्लो क्षेत्र रुकुमकोट, स्यालापाखा, पोखरा, खाबाङ, लुकुमलगायतका ठाउँमा भने विकास निर्माणका काम सुचारु अवस्थामा छन् ।

 

भुमे र पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न क्षेत्रका मानिस चिसो छल्न मंसिरमै खोच र दाङ, रुकुम (पश्चिम) समेत झर्ने गर्दछन् । कतिपय ठाउँमा उनीहरू गाउँतिर नउक्लिँदासम्म कुनै पनि विकास निर्माणका काम सञ्चालन गर्ने अवस्थासमेत हँुदैन । तातो लागेपछि चैत र वैशाख महिनामा स्थानीय गाउँतिर उक्लिने र विकास निर्माणका काम शुरु हुने भएका छन् । पुथाउत्तरगंगा गाउँपालिकामा दोस्रो चौमासिकमा शुरु भएका योजना यतिबेला रोकिएका छन् भने कतिपय योजना हिमपातकै कारण शुरु हुन नसकेको गाउँपालिका उपाध्यक्ष शाहीले बताए ।

 

यसैगरी जिल्लाको भुमे गाउँपालिकाको कतिपय ठाउँमा पनि चिसो र हिमपातकै कारण काम रोकिएका छन् । जिल्लाकै एकमात्र कृषि अनुसन्धान केन्द्र मारिङमा काम शुरु भइसक्नुपर्ने तर बाक्लो हिउँ जमेकै कारण अहिलेसम्म काम शुरु हुन नसकेको गाउँपालिका उपाध्यक्ष मनकुमारी विष्टले बताए । अन्य ठाउँमा भने योजना सुचारु अवस्थामा छन् ।

 

हिमपातका कारण बन्द भएका विद्यालयसमेत बल्लतल्ल खुलेका छन् । पछिल्लो समय चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले चैतको ५ गतेभित्र सबै विद्यालयमा परीक्षा सक्ने गरी परीक्षा सञ्चालन गर्ने भन्ने निर्देशन दिएपछि सबै विद्यालय परीक्षाको तयारीमा जुटिरहेका छन् । जिल्लाका अधिकांश विद्यालयका विद्यार्थीले आधा पढाई पढेर परीक्षा दिने गरेको विद्यार्थी बताउँछन् । पहिलेको तुलनामा यस वर्ष लामो समयसम्म हिउँ परेका कारण दैनिकी कष्टकर बनेको जिल्लावासीको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय