तराई–मधेशमा होलीको मौलिकता हराउँदै
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

सर्लाही, फागुन २६ : पछिल्लो सयम आधुनिकताको नाममा तराई–मधेशमा मनाइने होली पर्वको मौलिकता हराउँदै गएको छ । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथिअर्थात् होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोपहुँदै गएका छन् । यसको स्थान अश्लिल भोजपुरी तथा मैथिली गीतहरूले लिन थालेको छ ।

पहिले होली आउन केही दिन बाँकी हुँदा नै तराई–मधेशका गाउँ–गाउँ, टोल–टोलमा सामूहिक रुपमा होरी र जोगिरा गाउने गरिन्थ्यो । स्थानीयवासी दिनभरको सारा काम सकाएर साँझ चौक, चौतारामा जम्मा भई सामूहिकरुपमा होरी र जोगिरा गाउने गरिन्थ्यो । तर आजभोली मानिसहरू त्यो चलन विस्तारै बिर्सदैँ गएका छन् ।

‘आजभोलि गाउँदेखि शहरसम्म विभिन्न संघसंस्था, संगठन तथा सरकारी कार्यालयमा एकसाता अगाडिदेखिनै होलीको नाममा होली मिलन कार्यक्रमको आयोजना गरेर सामूहिकरुपमा एआपसमा शुभकामना आदानप्रदान गर्ने गरेको पाइन्छ’, चक्रघट्टा गाउँपालिका औरहीका राजगिर यादवले भने । ‘अहिले जे जस्तो कार्यक्रम गरेर होली मनाए पनि होलीको मौलिकता भने हराउँदै गएको छ । विगतमा होलीमा गाइने परम्परागत होरी र जोगिरा सरररजस्ता गीत अहिले सुन्न पाइन छोडिएको छ’, यादवले भने । उनले भने, ‘आधुनिकताका नाममा आएका होली मिलनजस्ता कार्यक्रममा एकापसमा रंग अबीर दलेर फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नको लागि मात्र सीमित रहेको देखिन्छ ।’

यस्ता कार्यक्रम सामजिक सद्भाव बढाउने तर्फ केन्द्रित हुनुपर्नेमा केवल शुभकामना आदानप्रदान गर्नमै सीमित भएको मलंगवा जेसिजका पूर्वअध्यक्ष एवं सामाजिक अभियन्ता सुवोध राजोपाध्यायले बताए । होलीका परम्परागत गीत जोगिरा सरररजस्ता गीत बज्न छोडेको उनकोे भनाइ छ ।

शुभकामना आदानप्रदान मात्र नभई तराई–मधेशमा गाउने गरिएका मौलिक जोगिराका गीतको पनि संरक्षणतर्फ ध्यान दिन जरुरी रहेको राजोपाध्यायले बताए । केहीवर्ष अगाडिसम्म सर्लाहीका गाउँ गाउँ र टोल टोलमा जोगिरा सररर गीत गाएर मानिसहरूले होली मनाउँथे । अहिले भने होली मिलन कार्यक्रमको आयोजना गरेर यसलाई परम्परागत होलीलाई रेडिमेड होली बनाइदिएका छन् ।

पहिले होलीमा हल्का रंग र अबीर मात्र खेलिन्थ्यो । अहिलेको होली मोबिल, कालो रंग, हिलो र पानीको होलीमा परिणत भएको छ । साँझ परेपछि परम्परागत होरी र जोगिरा गाइन्थ्यो । अहिलेको होलीमा साँझ परेपछि रक्सी पिउनेले समाजमा विकृति ल्याएका छन् ।

आजभोलिका होली गीतमा अपाच्य शब्द प्रयोग हुने गरेका छन् । अहिले डिजेमा अश्लिल र अपाच्य भोजपुरी गीत बज्ने गरेका छन् । जसले गर्दा हाम्रो परम्परागत होली लोप हुँदै गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय