मास्कसहित उपभोग्य वस्तु अभाव
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

डोटी, चैत ८ : पछिल्लो केही दिनयतादेखि मास्कलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ । कोभिड– १९ का कारण बजारमा मास्कलगायत अन्य दैनिक उपभोग्य वस्तु खोज्नेको संख्या बढेको भए पनि बजारमा मास्क नपाइने भएपछि स्थानीयवासीलाई समस्या हुँदै आएको छ । जिल्लामा रहेका अस्पताल तथा निजी मेडिकलमा समेत मास्क नपाउन थालेपछि स्थानीयलाई समस्या भएको दिपायल पिपल्लाका व्यापारी गणेश बोहराले बताए ।

उनले भने, ‘बजारमा मास्क छैन, अस्पतालमा समेत मास्क पाउन छोडेपछि समस्या भएको छ ।’ अहिले यहाँका प्रमुख बजार पिपल्ला, दिपायल, राजपुर तथा सिलगढीमा मास्क पाउनै मुस्किल हुन थालेको स्थानीयवासीको गुनासो छ ।

जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसन कक्ष्ँ राखेको भए पनि जिल्लामा सामान्य मास्कको समेत अभाव देखिँदै आएको छ । त्यस्तै दिपायलमा रहेको नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालमा समेत मास्क अभाव भएको बताइएको छ । बजारभरिमा मास्क नपाएका कारण मास्क उपलब्ध गराउने ठेकेदारले मास्क उपलब्ध नगराउँदा समस्या हुँदै आएको सो अस्पतालका डा बबिता गजमेरले जानकारी दिनुभयो । पछिल्लो समय मास्कको माग अत्यधिक बढेकाले फार्मेसीमा समेत मास्क आउँन छाडेको दिपायल राजपुरका महाकाली पोलिकिल्निकका पदम महराले बताए । उनले भने, ‘कोभिड–१९ का कारण बजारमा मास्कको ठूलो माग छ तर मास्कनै आउदैन हामीले कहाँबाट दिनु ।’ जिल्लामा पुरानो स्टक मास्क सकिएपछि मास्क नै पाउन मुस्किल भएको फार्मेसी सञ्चालक बताउँछन् ।

डोटीमा मास्क मात्रै नभएर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन थालेको स्थानीय उपभोक्ताको आरोप छ । सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको छिमेकी मुलुक भारतको उत्तर प्रदेशममा कोभिड–१९ फैलिएपछि सिमानाका बन्द हुने भएका कारण ग्यास नपाउने डरले यहाँका ठूला व्यापारी, होटल तथा केही स्थानीयले अग्रिम ग्यास खरिद गरेपछि बजारमा ग्यासको अभाव देखिएको स्थानीय व्यापारी हर्कबहादुर बोहराले बताए ।

उनले भने, ‘कोरोनाका कारण सिमानाका बन्द हुँदै छन्, ग्यासलगायतका सामग्री नआउने भन्दै सबैले धमाधम ग्यास लुकाउन थालेका छन्, गरिखाने वर्गलाई समस्या हुन थालेको छ ।’ उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बजारमा मास्क र खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गरेको पाइए कारवाही गरिने बताए । उनले भने, ‘हामीले बजारमा अनुगमनको तयारी गरेका छौँ, ग्यास र मास्कको कृत्रिम भाव गर्नेलाई कारवाही हुनेछ ।’ सीमानाका बन्द हुने डरले दैनिक उपभोग्यका सामग्रीको अभाव हुनुका साथै मूल्यसमेत वृद्धि भएको छ ।

त्यस्तै जिल्लामा दैनिक उपभोग्य वस्तुको दोब्बर तरिकाले मूल्यवृद्धि भइरहेको स्थानीय उपभोक्त बताउँछन् । जिल्लामा कैलाली तथा कञ्चनपुरबाट मास्कलगायतका अन्य उपभोग्य सामग्री आउने भएको र यसपटक कैलाली कञ्चनपुरमै मास्क र अन्य वस्तुको अभाव भएका कारण मास्कलगायतका सामग्री आपूर्ति गर्नमा समस्या हुँदै आएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, ‘जिल्लामा कैलाली र कञ्चनपुरबाट मास्कलगायतका अन्य सामग्री आयात हुने गर्दछ, कैलाली र कञ्चनपुरमै नपाइदा समस्या भएको हो ।’ यहाँका स्थानीय सरकारसँग समन्वय गरेर स्थानीय तहमै मास्क उत्पादन गर्ने प्रबन्ध मिलाउन समन्वय गर्नुपर्ने उनको भनाइ छ । यतिमात्र नभई यहाँका स्थानीय तहअन्तर्गत रहेका स्वास्थ्य संस्था, स्वास्थ्य चौकीमा समेत मास्कको अभाव देखिएको बताइएको छ । कोरोना संक्रमणले विश्वव्यापी रुप लिँदै गर्दा डोटीलगायत सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा समेत मास्कको अभाव देखिएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर