अलपत्र परेका नागरिक खोज्दै स्थानीय तह
मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित

सोलुखुम्बु, वैशाख ९ : जिल्लाका स्थानीय तहले अन्यत्र स्थानमा अलपत्र परेका आफ्ना नागरिकको खोजी शुरु गरेको छ।

थुलुङदुधकोशी गाउँपालिकाको कार्यपालिका बैठकले लकडाउनका कारण पालिका बाहिर असहज अवस्थामा बसेका नागरिकको उद्धार गर्ने निर्णय गरेको छ। काठमाडौँलगायतका क्षेत्रमा अलपत्र रहेका नागरिकको उद्धार गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए। प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा कोठाभाडामा बसेका विपन्न परिवारलाई पालिकाको खर्चमा उद्धार गर्ने निर्णय गरिएको हो।

ल्याइएका मानिसलाई क्वारेनटाइनमा राख्ने या सुरक्षित साथ होम क्वारेनटाइनमा राख्ने विषयमा सम्बन्धित वडाले निर्णय र अनुगमन गर्ने बताइएको छ। नेचासल्यान गाउँपालिकाले पनि अन्यत्र बसोबास गर्नेहरुको विवरण सङ्कलन शुरु गरेको छ। गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीले वैशाख  १० गतेभित्र तथ्याङक सङ्कलन गरिने बताए।

लामोजुरा पारीको लिखुपीके गाउँपालिकाले पनि वडागतरूपमा विवरण सङ्कलन शुरु गरेको जनाएको छ। गाउँपालिकाले तथ्याङ सङ्कलन सकेपछि  घर आउनेलाई सवारीसाधनको व्यवस्था गर्ने र बाहिर बस्नेलाई राहत दिने गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए। खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि १० गतेसम्म काठमाडौँमा रहेका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिसक्ने र उद्धारको कार्य शुरु गर्ने गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले दिए।

कोशीपारिको गाउँपालिका महाकुलुङका अध्यक्ष सागर किराँतीका अनुसार गाउँपालिका बाहिर बाध्यात्मक अवस्थामा बसेका नागरिकको विवरण सङ्कलनको काम शुरु गरिएको छ। यस्तै माप्य दूधकोशी गाउँपालिकाले पनि समस्यामा परेका नागरिकको विवरण सङ्कलन शुरु गरेको जनाएको छ।
सोलुदूधकुण्ड नगरपालिकाले भने व्यक्तिगतरूपमा समस्यामा परेकालाई उद्धार गर्ने विपन्न परिवारलाई राहत दिने काम गरिरहेको छ।

गाउँपालिकाले उद्धार गर्ने भएपछि स्थानीय नागरिक भने हर्षित भएका छन्। उनीहरुले सामाजिक सञ्जालमा जनप्रतिनिधि र स्थानीय सरकारको प्रशंसा गरेका छन्। थुलुङदूधकोशीले पीडित नागरिकका लागि सरकारको भूमिका निर्वाह गरेको काठमाडौँमा बस्दै आएकी उर्मीला केसीले बताए।
थुलुङदूधकोशी–८ घर भई हाल काठमाडौँमा बस्दै आउनुभएकी अप्सरा राईले भने, “भोट माग्दा मात्र होइन, समस्या पर्दासमेत स्थानीय सरकारले नागकिरलाई सम्झिएकामा खुशी छौँ।” रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय