कोरोना अस्पतालमा स्वाब सङ्कलन बुथ सञ्चालनमा
शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

पर्वत, वैशाख २० : पर्वतको कोरोना अस्थायी अस्पतालमा कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन बुथ स्थापना भएको छ। पर्वतको कुश्मा नगरपालिका–४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कोरोना अस्पतालमा स्वाब सङ्कलन बुथ स्थापना गरी शुक्रवारदेखि सञ्चालनमा ल्याइएको हो।

पर्वत अस्पताल र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा सञ्चालित अस्पतालमा कोरोना भाइरसको आशङ्का लागेका बिरामीको स्वाब सङ्कलनका लागि बुथ स्थापना गरिएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिए ।

यो बुथबाट स्वाब सङ्कलन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने सङ्क्रमणको जोखिम नहुने उनको भनाइ छ । त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पिपिइलगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुनेसमेत उनले बताए ।

स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गरिएका बिरामीलाई पनि राम्रो सेवा दिन सक्ने भएको छ ।

बुथ पूर्णरूपमा बैज्ञानिक र सुरक्षितरूपमा निर्माण गरिएको अस्पतालले जनाएको छ । बुथमा प्रयोग गरिएका सामग्री गुणस्तरीय रहेको र बुथभित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको छ।

पर्वतमा हालसम्म ३७३ को आरडिटी र ८४ जनाको पिसीआर परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय