प्रदेश नं २ मा कोरोनाको सन्त्रास
आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित

जनकपुरधाम, वैशाख २१ : प्रदेश नं २ को वीरगञ्ज–३ स्थित छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सर्वसाधारणमा रोगको सन्त्रास बढेको छ । राष्ट्रिय सङ्क्रमण जनस्वास्थ्य प्रयोगशाला टेकुले सो व्यक्तिमा कोरोनाको पुष्टि गरेपछि अन्य व्यक्तिमा पनि रोगको सङ्क्रमण रहेको हुनसक्ने त्रास भएको छ ।

ती व्यक्तिले बसोबास गरेको क्षेत्रलाई ‘सिल’ गरी उनले सम्पर्क गरेका व्यक्तिहरुको खोजबिन गरी स्वाबको नमूना सङ्कलन गरिने समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ । उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ ।

यसैबीच महोत्तरी जिल्लाको भङ्गहार बर्दिवास नगरपालिकामा केही समयको अन्तरालमा १२ जनाको मृत्यु भएको सन्दर्भमा सचिव डा घिमिरेले अहिलेसम्म कोरोनाकै कारण मृत्यु भएको पुष्टि नभएको बताउनुभयो । भङ्गहा नगरपालिका–७ मा मृत्यु भएका ४० र ६० वर्षीय पुरुषको स्वाबको नमूनाको परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको हो ।

दुवै जनाको मृत्यु कोरोनाको सङ्क्रमणबाट नभई अन्य कारणले भएको उहाँले जानकारी गराउनुभयो । चालीस वर्षीय व्यक्तिले अत्यधिक मदिरा सेवन गरेपछि उनलाई गम्भीर अवस्था स्थानीय स्वास्थ्य संंस्थामा वैशाख १८ गते भर्ना गरिएको थियो । सोही दिन उनको उपचारका क्रममा मृत्यु भएको थियो । उनको स्वाबको परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

त्यस्तै सोही वडाका ६० वर्षीय पुरुषको अत्यधिक पेट दुखेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । उनको स्वाबको नतिजा नेगेटिभ आएको छ ।

यस्तै सोही वडाका ५५ वर्षीया महिला र ५८ वर्षीय पुरुषको परीक्षणको रिपोर्ट आउन बाँकी छ तर हालसम्मको वस्तुस्थितिले हेर्दा उनीहरुको मृत्यु कोरोनाको कारणले भएको नदेखिएको उहाँले बताउनुभयो । सो नगरपालिका–७ का ४६ वर्षीय पुरुषले अत्यधिक मदिरा सेवन गरेपछि उनको अत्यधिक टाउको दुखेको थियो । मृत्युको सम्बन्धमा जानकारी नगराई परिवारका सदस्यहरुले दाहसंस्कार गरेको थियो ।

सोही वडाका ५० वर्षीय ग्याष्ट्रिक र अल्सरबाट पीडित भई बिरामी भएको कारणले मृत्यु भएको थियो भने अर्का ५० वर्षीय अर्का एक व्यक्ति एक महिनाअगाडि विषादी सेवन गरेको थियो । सोही कारणले बिरामी रहेको कारण उनको मृत्यु भएको थियो । बर्दिवास नगरपालिका–१२ मा भारत उत्तर प्रदेशका लखिमपुर बस्ने ५५ वर्षीय मृत्यु भएका व्यक्ति स्थानीय इँटाभट्टाको कामदार थिए ।

यस्तै सोही वडाको २६ वर्षीय एक युवक मिर्गाैलाको बिरामी रहेको र उनको उपचारका क्रममा मृत्यु भएको थियो । सोही वडाकी ५५ वर्षीय महिला उच्च रक्तचाप कारण मस्तिस्कघातबाट मृत्यु भएको थियो भने अर्का ५६ वर्षीय पुरुषको पनि मृत्यु कोरोनाका कारण नभएको प्रारम्भिक रिपोर्टबाट देखिएको प्रदेश सचिव डा घिमिरेले बताए ।

महोत्तरी भङ्गहा नगरपालिका–७ मा विशेष स्वास्थ्य सङ्गठनका प्रतिनिधि, स्वास्थ्य विभाग काठमाडौँका प्रतिनिधिका साथै प्रदेशका समाजिक विकास मन्त्रालयका प्रतिनिधि तथ्याङ्क सङ्कलन लगायतका कार्य गरिरहेका छन् । उक्त स्थलमा स्वाब सङ्कलनका साथै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यस प्रदेशमा आजसम्ममा दुई हजार ४३३ जनाको स्वाबको नमूना सङ्कलन भएको छ । सोमध्ये दुई हजार ९० जनाको रिपोर्ट नेगेटिभ र ३३० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर