बाढीले पाइप बगाउँदा खानेपानीको समस्या
मङ्गलबार, बैशाख २३, २०७७ मा प्रकाशित
बागलुङ, वैशाख २३ : बागलुङ बजारमा वितरण भइरहेको खानेपानीको पाइप बाढीले बगाएको छ।
आइतबार राति बागलुङ नगरपालिका–३ मा रहेको भूँदीखोला मुहानको पाइप बाढीले बगाउँदा बागलुङ बजारका केही क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएको छ।
 भूँदीखोलामा आएको बाढीले पाइप बगाएपछि नगरपालिका–२ श्रीनगरटोल र वडा नं ४ को उपल्लाचौरमा खानेपानी आपूर्ति बन्द भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ।
यहाँका झण्डै एक हजार ५०० धारामा पानी बन्द भएको हो । संस्थाले सोमबारदेखि नै पाइप मर्मतको काम थालेको संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए ।
अप्ठ्यारो ठाउँमा रहेको पाइप बगाएका कारण मर्मत भएर पानी सञ्चालन हुन केही दिन लाग्ने संस्थाले जनाएको छ।
लकडाउनका कारण घरभित्रै रहेका बजारवासीलाई पानीको अभाव हुने भएको छ । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेशखोला मुहान र भूँदीखोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ।
अन्य स्थानको पानी बजारमा आए पनि भुँदीको पानी भने पहिरोले पाइप बगाउँदा आइतबारदेखि  पर्याप्त पानी आउन नसकेको शर्माले बताए ।
अहिले रिठेखोलाबाट ३.५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर प्रतिसेकेन्ड र भुदीबाट २० लिटर प्रतिसेकेन्ड पानी दैनिक आउने गरेको थियो।
तीन वटा मुहानबाट ल्याइएको पानी बजार क्षेत्रभित्र पर्याप्त नभएकाले काठेखोला मुहानबाट लिफ्ट प्रणालीबाट पानी ल्याउने कामसमेत संस्थाले अगाडि बढाएको छ।
नगरपालिकाभित्रका उपभोक्तालाई  सफा र स्वच्छ खानेपानी खुवाउने उद्देश्यले नगरपालिका–३ काँठेखोलाको पानी लिफ्ट प्रणालीबाट बागलुङ बजारमा ल्याउन लागिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए।
नयाँ योजनाबाट प्रतिसेकेन्ड ७० लिटर पानी आउने गरी तयारी भइरहेको श्रेष्ठले बताए । अहिले बजारमा प्रतिसेकेण्ड ३० लिटर पानी आउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय