घुम्टे चढ्न रोक, मेला समेत स्थगन
बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

गलकोट, वैशाख २४ : वैशाख पूर्णिमाको अवसरमा बागलुङ जिल्लाको प्रसिद्ध घुम्टे लेकमा लाग्ने मेला स्थगन गरिएको छ । साथै कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै यस वर्ष सो लेकमा चढ्न समेत रोक लगाइएको छ ।

सो लेक लालीगुराँसको पहाड भनेरसमेत चिनिँदै आएको छ । वैशाख पूर्णिमाको अघिल्लो दिन घुम्टेको धुरीमा भव्य मेला लाग्ने गर्दछ । दश हजार ३९३ फिट उचाइमा रहेको बागलुङ जिल्लाकै अग्लो घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । पौराणिककालदेखि नै वैशाख पूर्णिमामा घुम्टेमा हजारौँ श्रद्धालु भक्तजन पूजाअर्चना तथा धार्मिक भ्रमणको निम्ति त्यहाँ पुग्ने गरे पनि कोरोना भाइरसका कारण यस वर्ष घुम्टेमा वैशाख पूर्णिमामा हुँदै आएको मेला स्थगित गरिएको हो ।

कोरोना जोखिम हुन नदिन परम्परादेखि नै गर्दै आएको मेला स्थगन गरिएको ‘गलकोट घुम्टे पर्यटन विकास केन्द्र’ले जनाएको छ । सो केन्द्रले भिडियो कन्फ्रेन्समार्फत बैठक बसी वैशाख पूर्णिमाका दिन सञ्चालन गर्दै आएका सम्पूर्ण पूजाआजा र मेला स्थगित गर्दै घुम्टे पहाड चढ्न रोक लगाइएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले जानकारी दिए ।

यस वर्ष पूर्णिमा वैशाख २५ गते बुधबार परेको छ । हरेक वर्ष वैशाख पूर्णिमाका दिन घुम्टेमा भव्य मेला लाग्ने गथ्र्यो । घुम्टेको शिरमा रहेका सिद्ध भैरवको मन्दिरमा दर्शन गर्न र भाकल तथा पूजाआजा गर्न बागलुङ जिल्लासँगै छिमेकी जिल्ला पर्वत, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की, तनहुँ, रुकुमलगायत जिल्लाबाट हजारौँ हजार श्रद्धालु भक्तजन त्यहाँ पुग्ने गर्थे ।

केन्द्रले यस वर्ष बुद्ध जयन्ती अर्थात् वैशाख पूर्णिमाको अघिल्लो दिन वैशाख २४ गते मङ्गलबार लाग्ने वैशाखे पूर्णिमा मेलामा घुम्टेमा नजान सम्पूर्ण पर्यटक तथा श्रद्धालु भक्तजनलाई अपिलसमेत गरेको केन्द्रका वरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय