बागलुङ, वैशाख २४ : बागलुङमा जनता आव" />
जनता आवास कार्यक्रमको चार वर्ष : १५३ घर निर्माण सम्पन्न
बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

बागलुङ, वैशाख २४ : बागलुङमा जनता आवास कार्यक्रम शुरु भएको चार वर्ष पुगेको छ । गरिब, दलित, अल्पसङ्ख्यक र विपन्नलाई घर दिने उद्देश्यले नेपाल सरकारले शुरु गरेको कार्यक्रममार्फत १५३ घर निर्माण सम्पन्न भएका छन् ।

नेपाल सरकारमार्फत गण्डकी प्रदेश सरकारमा स्थानान्तरण भएको सो कार्यक्रमले आगामी आर्थिक वर्षसम्म थप २२० घर निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको अन्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी केही दिन पहिले मात्रै २०० घर निर्माणको प्रक्रिया शुरु भएको छ भने बाँकी २० घरले अन्तिम किस्ताको रकम लिन मात्रै बाँकी छ ।

जनता आवास जिल्ला समन्वय समितिको बैठकले यसै आर्थिक वर्षमा शुरु गरेर आगामी आवमा सक्नेगरी २०० घर निर्माण गर्ने निर्णय गरेको समितिका संयोजक इन्द्रलाल सापकोटाले बताए । यो कार्यक्रमअन्तर्गत जिल्लाको दशवटै स्थानीय तहमा छनोटमा परेकाहरुको घर निर्माण गर्न थालिएको हो । शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले दशवटै पालिकामा पुगेर घर नभएका गरिब दलित, अल्पसङ्ख्यक र विपन्नहरुको सर्वेक्षण गरेको थियो ।

डिभिजन कार्यालयको प्राविधिक टोलीले गरेको सर्वेक्षणका आधारमा चालु आवमा २०० घर निर्माण गर्नुपर्ने अवश्यकता देखिएको जनता आवास जिल्ला समन्वय समितिका संयोजक सापकोटाले बताए ।

उनका अनुसार बागलुङ नगरपालिकामा २३, जैमिनीमा २७, गलकोटमा २५ र ढोरपाटन नगरपालिकामा २४, काठेखोलामा ८, ताराखोलामा १४, तमानखोलामा १६, निसीखोलामा २३, बडिगाडमा २४ र बरेङ गाउँपालिकामा १६ घर निर्माणको प्रक्रिया शुरु गरिएको हो । समितिले लाभग्राहीको सूचीमा रहेका २०० परिवारलाई १५ दिनभित्र सम्झौता गर्न आह्वान गरेको छ । जनता आवास कार्यक्रमका लाभग्राहीले प्राविधिकको सिफारिसअनुसारको घर बनाएवापत तीन किस्तामा रु तीन लाख ३६ हजार पाउँछन् ।

सम्झौतालगत्तै लाभग्राहीले रु ८३ हजार ३३३ अनुदान पाउने डिभिजन कार्यालयका अधिकृत बद्रीनाथ गौतमले बताए । दुईसय घर निर्माणका लागि चालु आवमा रु ९१ लाख खर्च हुनेछ । अपुग रकम आगामी आवको बजेटमा व्यवस्थापन हुने उनले बताए । कार्यालयले गरेको सर्वेक्षणअनुसार जिल्लामा थप ४६५ घर निर्माण गर्नुपर्ने छ ।

आवश्यकताका आधारमा २०० घर निर्माणको चरणमा गएको र बाँकीलाई प्रतीक्षाको सूचीमा राखिएको छ । यो कार्यक्रममा सहभागी लाभग्राहीले वडा कार्यालयको सिफारिस र लालपुर्जासहित सम्झौताका लागि कार्यालय आउनुपर्ने छ । ‘तोकिएको समयमा सम्झौता नगरे प्रतीक्षाको सूचीमा रहेको लाभग्राहीले कार्यक्रम पाउने छ’,अधिकृत गौतमले भने ।

राज्यको पुनःसंरचना हुनुपूर्व शहरी विकास तथा भवन निर्माण विभाग, आवास शाखाले सञ्चालन गर्दै आएको उक्त कार्यक्रम प्रदेश सरकारमा सारिएको थियो । पछिल्लो समय गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत यो कार्यक्रम सञ्चालनमा छ । चालु आवमा अघिल्ला वर्षहरुमा सम्झौता भएर निर्माणको चरणमा रहेका २० घरको काम पनि चलिरहेको कार्यालयले जनाएको छ ।

आव २०७३÷०७४ बाट शुरु भएको कार्यक्रमले बागलुङमा पहिलो चरणमा ६७ र दोस्रो चरणमा ८६ घर निर्माण गरिसकेको गौतमले जानकारी दिए । चालु आवमा निर्माण शुरु हुने घरसहित जिल्लाभर जनता आवास कार्यक्रममार्फत जम्मा ३७३ घर निर्माण हुनेछन् ।

यो कार्यक्रममा पहाडका दलित दमाइ, कामी, सार्कीका साथै लोपोन्मुख, सीमान्तकृत कुसुन्डा, राउटेलगायत जातिका लागि लक्षित गरिएको समन्वय समितिका संयोजक तथा प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए ।

प्रदेशसभाका सदस्य संयोजक रहने कार्यदलको सिफारिसमा तथ्याङ्क सङ्कलन गरी लाभग्राही छान्ने व्यवस्था कार्यक्रममा छ । जिल्लाका दशवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका संयोजक, सबै सांसद समन्वय समितिको सदस्य रहने व्यवस्था छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय