उचित संरक्षणको अभावमा पञ्चदेवलहरू
आइतबार, माघ १२, २०७६ मा प्रकाशित

– मिमबहादुर रावल

मान्म, माघ १२ : कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको मान्म, सान्नी त्रिवेणी गाउँपालिकाको मेहलमुडी, कालिका गाउँपालिकाको सुककाटिया रहेका ऐतिहासिक पञ्चदेवल प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन् । यिनीहरूको संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन् ।

कालीकोटमा रहेका पञ्चदेवलहरू तत्कालीन सिञ्जा राज्यका राजाले निर्माण गरेको स्थानीयवासीको भनाइ छ । बाइसे राज्यमा सान्नी राज्यको विशेष इतिहास बोकेको थलो भएकाले पनि पर्यटन प्रवद्र्धन र ऐतिहासिक दस्तावेजका रूपमा रहेको पञ्चदेवलको संरक्षण गर्न कुनै पनि निकायबाट प्रयास नगरिएको खाँडाचक्र नगरपालिकाका स्थानीयवासी देवनारायण सञ्ज्यालले बताए । ‘ऐतिहासिक धरोहरको रहेका पञ्चदेवलहरू संरक्षणको अभावमा ओझेलमा परेका छन्’, उनले भने, ‘यी स्थानहरूको उचित संरक्षण इतिहासको खोजी गरिनुपर्छ ।’

सान्नी त्रिवेणी गाउँपालिकाको मेहलमुडीमा रहेको पञ्चदेवल पाँचवटा देवल पूरै कलात्मक र आकर्षक भए पनि संरक्षणमा ध्यान नजानुले माटो र झारपात पुरिने अवस्थामा रहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘मेहलमुडी रहेका देवलहरू पुरिन थालेका छन्’, उनले भने, ‘संरक्षणका लागि पुरातत्व विभागलाई आग्रह गर्ने तयारी गरेका छौँ ।’

देवलहरूका विषयमा जिल्लाबाहिर प्रचारप्रसारका लागि आफूहरूले देवललाई झनै आकर्षक बनाउन लागिपरेका नेपाली काँग्रेसका युवानेता भुपेन्द्रजङ्ग शाहीले बताए । ‘कालीकोटमा रहेका पञ्चदेवलको संरक्षणका यसको प्रचारप्रसार हुन सकेको छैन ।’ उनले भने, ‘यसको संरक्षण र प्रचारप्रसारको आवश्यकता रहेको छ ।’

कालीकोट जिल्लामा प्राकृतिक सम्पदा प्रचुर मात्रामा भए पनि उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् । जिल्लामा नेपालको अग्लो पचाल झरना, पाण्डव गुफा, तिला गुफा, पञ्देवल रमणीय चुलिमालिका तथा पुग मन्दिर, त्रिवेणीधामलगायत क्षेत्र चर्चित रहेका छन् । यी सम्पदाका लागि बर्सेनि लाखौँ रकम छुटाउने गरिएको भए पनि उचित संरक्षणको अभाव कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय