‘प्रहरीले अनावश्यक दुःख दियो’
शनिबार, माघ २५, २०७६ मा प्रकाशित

काठमाडौं, माघ २५ : प्रहरीले आफूहरुलाई अनावश्यक दुःख दिँदै आएको त्रिचन्द्र कलेजमा अध्ययन गर्ने विद्यार्थीले बताएका छन् । विभिन्न आरोपमा आफूलाई कलेजमा पढ्न वातावरणसमेत नभएको त्यहाँ अध्ययनरत छात्रा सनध्या पुनमगरले बताइन् । विना कारण प्रहरीले आफूहरुलाई कलेजबाट पक्राउ गर्नुका साथै अनावश्यक दुःख दिने गरेको उनले गुनासो गरिन् ।
मानविकी तेस्रो वर्षमा पढ्दै गरेकी सनध्यासहित प्रहरीले गत १७ गते तीन जना विद्यार्थीलाई कलेजबाटै पक्राउ गरेको थियो । पुस्तकालयमा पढ्दै गरेका विद्यार्थीलाई हतियार सहित प्रहरी प्रवेश गरेर उनीहरुलाई पक्राउ गरेपछि अन्य विद्यार्थीहरु समेत अहिले आक्रोशीत भएका छन् । कलेजमा हतियारसहित प्रहरी प्रवेश गरेर पुस्तकालयमा पढ्दै गरेका विद्यार्थीलाई पक्राउ गर्नु मानव अधिकार हनन् भएको सनध्याको भनाइ छ ।
पुस्तकालयमा पढ्दै गरेको अवस्थामा कलेज भित्रै प्रहरी पोशाक सहित प्रवेश गरेर आफूलाई नियन्त्रणमा लिएको उनले बताइन् । ‘के कारणले हामीलाई पक्राउ गरेको हो कुनै जानकारी दिइएन,’ उनले भनिन्, ‘१७ गते दिउँसो १२ बजे दरबारमार्गबाट खटिएको प्रहरीले पक्राउ गरेर १८ गते बेलुका ५ बजेमात्रै छोडिदिएको थियो ।’ हिरासतमा राख्दासमेत पक्राउ गर्नुका कारण केही जानकारी नगराएको उनको भनाइ छ ।
यसरी कलेज भित्रैबाट प्रहरीले विद्यार्थीलाई पक्राउ गरेपछि यहाँका विद्यार्थीहरु त्रसीत भएका छन् । ‘हामीहरु पुस्तकालयमा पढिरहेका थियौं,’ सनध्याले भनिन्, ‘एक्कासी हतियारसहित प्रहरी आएर मसहित ३ जनालाई पक्राउ गरे लियो ३० घण्टासम्म हिरासतमा राख्यो तर कारण केहि जानकारी गराएन् ।’
प्रहरीले अनावश्यक रुपमा आफूहरुलाई दुःख दिएको भन्दै उनी आक्रोसीत भएकी छिन् । गाउँबाट पढ्न आएकी आफूलाई विना कारण प्रहरीले पक्राउ गरेर मानवअधिकार हनन् गरेको उनको भनाइ छ । ‘मैले गल्ती नै गरेको भएपनि प्रष्ट जानकारी गराउँनुपथ्र्याे तर कुनै जानकारी नदिएर पक्राउ गर्नुले मेरो स्वतन्त्र रुपमा पढ्न वातावरण हनन् भएको छ ।’ उनले भनिन् ।
पक्राउ गरेर प्रहरीले आतंककारी जस्तै द्वन्द्वकालकै शैलीमा केरकार गरेको उनी बताउँछिन् । हिरासतमा राखेर धम्क्याउने, तर्साउने काम गरेको उनको भनाइ छ । शारीरिक रुपमा आफूहरु प्रहरी कार्यालयबाट मुक्त भएपनि मानसिक रुपमा अझैँ मुक्त हुन नसकेको सनध्याको भनाइ छ । अहिले पनि सहज रुपमा कलेज जाने वातावरण नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय