मेला महोत्सवमा संस्कृति संरक्षणको प्रयास
आइतबार, माघ २६, २०७६ मा प्रकाशित

–टेकराज पोखरेल

नवलपुर, माघ २६ :  मेला महोत्सव भन्नेबित्तिकै आम मानिसमा हाटबजार, किनमेल, आफ्ना उत्पादनको प्रदर्शनी तथा बाजागाजासहितको रङ्ग रमाइलो कुराको मात्र याद आउने गर्दछ । तर यी विषयभन्दा फरक प्रयास भेटिन्छ नवलपुर र चितवनका मेला महोत्सवमा ।

मेला महोत्सवको यो आम सोचाइभन्दा यहाँको आकर्षण फरक पनि छ । यहाँका मेला महोत्सवममा विभिन्न जातजतिको सांस्कृतिक घर नै निर्माण गरेर नेपालको जातीय विविधिता र बहुसंस्कृतिको झलक दिन खोजिएको छ । जुन प्रयासलाई धेरैले राम्रो पनि मानेका छन् । यहाँका महोत्सवमा पुग्ने आम मानिसलाई फरक विषयवस्तुको जानकारी दिने प्रयास गरिएको छ ।

यही माघको १५ गतेदेखि पूर्वी नवलपुरको गैँडाकोट नगरपालिकास्थित नारायणी नदी किनारमा जारी तेस्रो गैँडाकोट महोत्सवमा विभिन्न जातजातिको लोपोन्मुख सांस्कृतिक घर निर्माण गरिएका छन् । महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरुले प्रयोग गर्ने परम्परागत सामग्रीसमेत महोत्सवस्थलका साँस्कृतिक घरमा राखिएका छन् ।

जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुर गैँडाकोटका अध्यक्ष एवं तेस्रो गैँडाकोट महोत्सव, २०७६ का संयोजक अमृत भट्टचनले सो महोत्वसमा नौ वटा जातिको साँस्कृतिक घर निर्माण गरिएको बताए । महोत्सवस्थलको प्रवेश द्वारसँगै चेपाङ, दरै, कुमाल, भुजेल, मगर, थकाली, तामाङ, थारु र गुरुङ जातिका गरी नौ वटा साँस्कृतिक घर निर्माण गरिएको छ । नौवटै साँस्कृतिक घर परम्परागत छन् र उनीहरुको धर्म र संस्कृतिबारे जानकारीसमेत लिन सकिने व्यवस्था मिलाइएको छ ।

सांस्कृतिक घरमा ती जातिले खाने परम्परागत खाद्यान्न प्रदर्शन तथा बिक्रीका लागिसमेत राखिएको उनले बताए । ‘थारुको सांस्कृतिक घरमा घोँङी, चिचर, माछाका परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ’, भट्टचनले भने, ‘त्यहाँ उनीहरुले माछा मार्न प्रयोग गर्ने ढडीया, जाल, ढिँकी, जाँतोलगायतका परम्परागत औजारसमेत राखिएका छन् ।’ नौवटै जातिका घरमा उनीहरुले प्रयोग गर्ने परम्परागत तर लोपोन्मुख सामग्री प्रदर्शन गरिएको उनले जानकारी दिए ।

गैँडाकोट महोत्सवका सचिवालय संयोजक छविलाल कँडेलले जातजातिको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेका कारण यसको संरक्षणका लागि महोत्सवमा साँस्कृतिक घर निर्माण गरिएको बताए । ‘परम्परागत बस्ती र संस्कृतिबारे अहिलेको पुस्तालाई जानकारी नै छैन’, कँडेलले भने । उनीहरुलाई हाम्रो जातजातिको सांस्कृतिक जानकारीसहित वेषभूषा, रहनसहनबारेमा पनि ज्ञान दिने उद्देश्यले लोपोन्मुख जातिलाई समेटर यस्तो घर निर्माण गरिएको उनले बताए ।

मेला महोत्सवमा सांस्कृतिक घर निर्माण गर्दा सबै समुदायलाई जातजातिको संस्कृतिबारे जानकार र सचेत गराउन तथा संस्कृतिको पुस्ता हस्तान्तरणका लागिसमेत महत्वपूर्ण हुने कँडेलले बताए ।

गैँडाकोट महोत्सवको पहिलो संस्करणबाटै जातजातिको घर निर्माणको कामलाई अगाडि बढाइएको महोत्सवको प्रचारप्रसार तथा सञ्चार उपसमिति संयोजक शालिकराम सापकोटाले बताए । पहिलो महोत्सवमा तीन वटा जातिको मात्रै सांस्कृतिक घर निर्माण गरिएको स्मरण गर्दै सापकोटाले भने, ‘तेस्रो महोत्सवसम्म आइपुग्दा नौ वटा जातिको घर निर्माण गरेका छौँ, आगामी महोत्सव अन्य जातजातिको सांस्कृतिक घर निर्माणसँगै उनीहरुको संस्कृतिसमेत प्रदर्शन गर्ने तयारी गरेका छौँ ।’

अहिलेको युवापुस्ताले सुन्ने मात्र गरेको गिठा, भ्याकुर, स्याखु, छत्रीलगायतका सामग्री सांस्कृतिक घरमा प्रत्यक्ष अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले उनीहरुमा पुरानो रहनसहन खानपिन र अन्य सांस्कृतिक जानकारीसमेत गराउने मेलामा उपस्थितको भनाइ छ ।

नेपालको तराईदेखि पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई समेटेर महोत्सवमा सांस्कृतिक घर निर्माण गरिएको छ । हिमालका थकाली, पहाडका गुरुङ तथा तराईका थारु समुदायसहितका अन्य जातिको कला, संस्कृति र उनीहरुको रहनसहन झल्किने सांस्कृतिक घरले इतिहासलाई जीवन्त राख्नुका साथै महोत्सवमा आकर्षणसमेत बढाएको सापकोटाले बताए ।

महोत्सव अवलोकनका लागि पुग्ने व्यक्तिहरुले सांस्कृतिक घरको अवलोकनसँगै उनीहरुको मौलिक खानाको स्वाद लिन र संस्कृतिबारे बुझ्न सहज हुनेगरी प्रबन्ध गरिएको आयोजकको भनाइ छ ।

आदिवासी जनजाति महासङ्घ गैँडाकोटका नगर अध्यक्ष ललितबहादुर गुरुङले जनजातिको मात्रै नभएर क्षेत्री, ब्राह्मण समुदायका सांस्कृतिक घरसमेत मेला महोत्सवमा राख्नुपर्ने बताए । ‘क्षेत्री, ब्राह्मण समुदायको समेत आफ्नै खालको कला र संस्कृति हुन्छ, ती लोप हुने अवस्थामा पुगेका छन्’, गुरुङले भने, ‘आगामी महोत्सवबाट सबै समुदायलाई समेट्नेगरी सांस्कृतिक घर निर्माणका लागि हामीले प्रयास गरेका छौँ ।’

आफ्नो कला र संस्कृति सबैलाई प्यारो हुने उल्लेख गर्दै मेला महोत्सवमा राखिने सांस्कृतिक पहिचानले आम मानिसमा भाइचाराको सम्बन्ध प्रगाढ बनाउन अझ मद्दत पुग्ने गुरुङको भनाइ छ ।

देशका विभिन्न भू–भागबाट आएर नवलपुरमा बसोबास गरिरहेका जातजतिको पहिचान र उनीहरुको मौलिकताका लागि सांस्कृतिक घर निर्माणमा पहल गरेको गुरुङले बताए । गैँडाकोट नगरपालिका, आदिवासी जानजाति महासङ्घ र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरको संयुक्त पहलमा मौलिकता झल्किने घर निर्माण गरिएको गुरुङको भनाइ छ ।

आफूहरुको संस्कृति लोप हुने अवस्थामा पुगेका कारण हरेक दर्शकले देखुन् र जान्न पाउन् भनेर नै महोत्सवमा सांस्कृतिक घरसँगै उनीहरुको रहनसहन झल्किने परम्परागत औजार तथा खाद्यान्न राखिएको गुरुङले बताए ।

गैँडाकोट महोत्सवमा प्रवेश गर्ने जो कोहीको आँखा प्रवेशद्वारसँगै रहेको सांस्कृतिक घरमा गएर ठोक्किने गरेको छ । निकै कलात्मक तरिकाले निर्माण गरिएका घरको छानो खरले छाएका छ । बाँसले बेरिएको घरमा माटोले लिपपोत गरेर भित्तामा जातीय संस्कृति झल्किने कलात्मक आकृतिसमेत देख्न पाइन्छ ।

सांस्कृतिक घर निर्माणका लागि सोही जातिका कालीगढ प्रयोग गरिएको थियो । केही पहाडी गाउँमा परम्परागत घर केहीमात्रामा हुने गरेका कारण त्यहीँका कालीगढ ल्याएर घर निर्माण गरिएको महोत्सव मूल संयोजक भट्टचनले बताए । आफू थकाली समुदायको व्यक्ति भएका कारण पनि आफ्नो जातिको संस्कृति लोप हुने अवस्था आएकाले सांस्कृतिक घर निर्माणबारे चासो दिएर काम थालेको उनले बताए ।

गाउँघरमा बुढापाकाको मुखबाट सुन्ने तथा किताबमा पढ्ने गरेको पुराना घर देख्दा युवापुस्ताले रमाइलो मानेका छन् । नवलपुरको कावासोतीबाट महोत्सव हेर्न आउनुभएका लक्ष्मण सुवेदीले महोत्सवमा रहेका सांस्कृतिक घरले जनजातिको कला र संस्कृतिबारे नजिकबाट बुझ्न आफूलाई मद्दत गरेको बताए । ‘पहाडको घुमाउने घरबारे घरमा बुवाआमाले सुनाउने गर्नुहुन्थ्यो, तर कहिल्यै देख्न पाएको थिइनँ’, सुवेदीले भने, ‘गण्डकी प्रदेशको पहाडमा हुने घुमाउने घर यहाँ महोत्सवमा आउँदा देख्न पाएँ ।’

पहाड घर स्याङ्जा बताउने सुवेदीले आफू पहाडमा पुग्दा घुमाउने घर हेर्ने रहर गरेको भए पनि आधुनिकतासँगै त्यस्ता घर देख्न नपाएको गुनासो गरे । तर गैँडाकोट महोत्सवमा आउँदा तमु ह्युल छोंज धीं (गुरुङ) जातिको घरले आफूले सुन्ने गरेको घुमाउने घरको झल्को मेटाएको सुवेदीको भनाइ छ । महोत्सवमा उनले जनजातिको परम्परागत घरसँगै उनीहरुको मौलिकता झल्किने खाना तथा संस्कृति राखिने राम्रो भएको बताए ।

जिल्लाको मध्यबिन्दु नगरपालिकाबाट गैँडाकोट महोत्सवमा पुग्नुभएकी आरती शर्माले जीवनमा कहिल्यै नदेखेको गिठा, भ्याकुर महोत्सवमा देख्न पाउँदा दङ्ग परेको सुनाए । ‘हाम्रो मौलिकता झल्किने सामग्रीले हाम्रो इतिहास, कला र संस्कृति बुझ्न त मद्दत गरेकै हुन्छ’, शर्माले भने, ‘त्यसका साथै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनसँगै संस्कृति संरक्षणमा समेत महत्वपूर्ण टेवा पु¥याएको हुन्छ ।’ संस्कृति अध्ययन गर्ने विद्यार्थीका लागि शोधपत्र तयार पार्नसमेत यस्ता सांस्कृतिक घरले सहयोग गर्ने शर्माको भनाइ छ ।

नवलपुरमा मात्रै नभएर चितवनतर्फ नारायणी नदी किनारमा हरेक दुई वर्षमा हुने चितवन महोत्सव तथा टिकौली चौरमा हुने रत्ननगर महोत्सवमा समेत जनजातिका सांस्कृतिक घर राख्ने गरिएको छ । यसरी राखिएका घरबाट एकअर्काको संस्कृति बुझ्नमात्र नभएर नेपालको पुरानो समाजलाई पनि जीवन्तता दिने रत्ननगर उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजाराम रेग्मीले बताए ।

रत्ननगर उद्योग वाणिज्य सङ्घले गत पुस २५ देखि माघ ७ गतेसम्म सञ्चालन गरेको रत्ननगर महोत्सवमा पनि यहाँका आदिवासी र जनजातिका सांस्कृतिक घर राखिएको उनले बताए ।

‘समाज परिस्कृत हुँदै गएपछि उनीहरुले आफ्ना पुराना कला र संस्कृतिलाई बिर्सदै गएका छन्’, रेग्मीले भने, ‘त्यस्ता मौलिकता झल्किने विषयवस्तु हाम्रो अमूल्य गहना हुन्, तिनीहरुलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’ परम्परागत संस्कृति संरक्षण गरेर राख्न सकेको खण्डमा हाम्रो इतिहासलाई जीवितै राख्न सकिने र यस्ता कार्यले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पु¥याउने रेग्मी बताउँछन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत हाम्रो मौलिक संस्कृतिको प्रचारप्रसार र प्रदर्शन गर्नु आवश्यक रहेको रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय