एकै पटक दुईटा झोलुंगेपुल बनेपछि स्थानीयलाई सहज
आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

चन्द्रौटा, फागुन ११  : कपिलवस्तुको शिवराज नगरपालिका–३ मा एकै पटक दुई वटा झोलुंगे पुल बनेपछि स्थानीय खुसी भएका छन् । स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

पूर्वपश्चिम राजमार्गबाट करिब तीन किलोमिटर उत्तरतर्फको भितिरिया गाउँमा स्थानीयलाई अहिले आवतजावत सहज बनेको छ । गाउँमा पुग्न तीन वटा खोला तर्नुपर्ने भए पनि अहिले तिनै वटा खोलामा पुल निर्माण भएपछि स्थानीयको जोखिम हटेको छ । जवाई खोलामा पक्की पुल, मैनार खोला र सुकबेल खोलामा झोलुंगे पुल बनेको छ ।

पानी परेको बेला बजार जान र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो । करिब ८० घरधुरी रहेको भितरिया गाउँमा पुल बनेपछि अहिले स्थानीय पुलबाटै आवतजावत गर्ने गरेका छन् । साथै भितरिया गाउँसँगै जोडिएको कपिलवस्तुकै पर्यटकीयस्थल सोनवागढ पुग्न सुकबेल खोला तर्नु पर्दछ । खोलामा पनि मैनार खोलाको पुलसँगै उक्त खोलामा पनि झोलुंगे निर्माण भएको छ । जुन ७३ मिटर लम्बाइ र ५६ लाखको लागतमा निर्माण भएको बताइएको छ ।

नेपाल सरकारले तुइन हटाउने योजना देशैभर सञ्चालन गरेको अभियान स्वरुप कपिलवस्तुका विभिन्न स्थानमा झोलुंगेपुल निमार्ण भइरहेको छ । लिडो र सेवक नामक संस्थाको प्रविधिक सहयोगमा ४९ लाख को लागतमा निमार्ण भएको निमार्ण उपभोक्ता समितिका अध्यक्ष कपिलदेव खनालले बताए ।

पुल नहँुदा विद्यार्थीलाई विद्यालय पुग्न र बिरामीलाई स्वास्थ्य संस्था पुग्न समस्या भएको थियो । वर्षातको समयमा करिब एक महिनासम्म विद्यार्थी विद्यालय जान नसक्ने अवस्था रहेको स्थानीय भितरिया गाउँका अध्यक्ष रामबहादुर थारुले बताए । ‘विद्यालय जान भनी विद्यार्थी खोलासम्म आउने तर खोलामा बाढी आउँदा फर्किने गरेका थिए, अहिले पुल बनेपछि नियमित विद्यालय जाने गरेका छन्’ थारुले भने, ‘गाउँलेलाई अहिले सहज छ ।’

भितरिया गाउँ पुरानो गाउँ भए पनि विकासमा पछाडि रहेकाले वडाले भितरियालाई प्राथमिकतामा राखेको वडाध्यक्ष टेकलाल सापकोटाले बताए । वडामा चार वटा पुल निर्माण भएकाले पछाडि परेका गाउँहरू पनि अब बजारसँग जोडिएको उहाँले बताए ।

ऐतिहासिक क्षेत्र सोनवागढ जानको लागि सडक समस्या रहेकाले पुल निर्माण भएपछि त्यँहा पुग्न सहज हुने विश्वास उनले व्यक्त गर्नभयो । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरभित्रका सबै गाउँसम्म जोड्न पुलको व्यवस्था हुने बताए । अब कसैले पनि नदी तथा खोलाको कारणले गन्तव्यसम्म पुग्न नसक्ने पिडा सहन नपर्ने अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय