खानेपानीका धारा जडानले उत्साहित
आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

पाल्पा, फागुन ११  : रिब्दीकोट गाउँपालिका–७ पालुङमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । धारा जडानसँगै पानीको खोजीमा कुँवा धाउनुपर्ने वर्षौँदेखिको समस्या हटेपछि यहाँका स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चुर्पुकधारा लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत ‘एक घर, एक धारा’ खोलेर उद्घाटन गरे पनि खानेपानीको पहुँच पुगेको हो । गाउँपालिकाको एक करोड ९० लाख १४ हजार ७४६ को लागतमा २०७५ वैशाख १३ गतेदेखि निर्माण शुरु गरी २०७६ फागुन ९ गते सम्पन्न भएको थियो ।

खानेपानीको मुहानमा ५० हजार लिटर क्षमता रहेको ट्यांकी र मुहानदेखि ५०० मिटर टाढा ५० हजार लिटर क्षमता भएको ट्यांकी निर्माण गरिएको छ । ट्यांकीबाट संकलित पानी स्थानीय बासिन्दाका घरका धारामा पठाउन व्यवस्था गरिएको छ । प्रत्येकका घरमा दैनिक एक घण्टा पानी आउँदा स्थानीय बासिन्दा उत्साहित छन् । धारामा पानी आउन थालेसँगै स्थानीय बासिन्दाको पानीका लागि समय खर्चिनुपर्ने बाध्यता हट्दा समय बचत भएको छ ।

चुर्पुकधाराको पानीलाई लिफ्टमार्फत डाँडाबस्तीमा खानेपानीको पहुँच विस्तार गरिएको छ । म्यालपोखरा, घरलीक, आलिप, चौरटोल, बाहुनडाँडा, एवाखर्कलगायतका बस्तीमा धारा जडान गरिएको हो । यहाँका ६५ घरपरिवारमा एक÷एक धारा जडान गरिएको छ । जडानपछि ३५२ जनाले खानेपानीको सुविधा घरघरमा प्रयोग गर्छन् ।

गाउँपालिका अध्यक्ष जिसीले खानेपानीको अभाव रहेको बस्तीमा एकघर एक धारा जडान गरी समस्याको समधान गर्न थालिएको बताए । खानेपानीको एक घर एक धारा जडान पनि स्थानीय बासिन्दामा खुशी ल्याएको अध्यक्ष जिसीले बताए । खानेपानी समस्यालाई हल गर्ने गाउँपालिकाको पहिलो प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष जिसीले बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले घरघरमा पानीका धारा जडान गरेपछि महिलाले सबैभन्दा बढी सुविधा प्रयोग गरेको बताए । महिलालाई खानेपानीको सुविधा आएपछि आयआर्जन गर्न लागेर आम्दानीको स्रोत बढाउनुपर्ने गाउँपालिका उपाध्यक्ष खनालले बताए । गाउँपालिका प्रशासकीय अधिकृत ऋषिराम अर्यालले पानीको सुविधा उपयोग गर्दै तरकारी खेती गरी प्रशस्त आम्दानी गर्नुपर्ने बताए । पानीका लागि खर्चिनुपर्ने समयमा अब आयआर्जनका लागि समय खर्च गरी आम्दानी गर्नुपर्ने अर्यालले बताए ।

वर्षौँदेखि खानेपानीको समस्या हल भएपछि यहाँका महिला तथा बालबालिका बढी खुशी देखिएका हुन् । बिहानको समय पानीका लागि खर्चिनुपर्ने बाध्यता थियो । स्कूल पढने बालबालिकाले पानी बोक्ने समयमा लेखपढ गर्न पाउने भएपछि खुशी देखिएका हुन् । स्थानीय बासिन्दा मीना गाहाले घरघरमा पानीका धारा जडानपछि आफूलाई धेरै सजिलो भएको बताए । पानीका लागि समय खर्चिनुपर्ने बाध्यता हटेकाले ठूलो परिर्वतन आएको गाहाको भनाइ छ ।

बिहान १० बजेसम्म दुई–तीन गाग्री पानी ल्याउनुपर्ने बाध्यता थियो । अहिले घरघरमा पानीका धारा जडानपछि बिहानमा घाँसपात तथा भान्साको काम गर्न सजिलो भएकोे स्थानीय बासिन्दा गोमानसिंह गाहाले बताए । ‘पहिला एक गाग्रो पानीका लागि एक घण्टा समय खर्चिनुपर्ने बाध्यता थियो, अहिले घरमै पानीका धारा जडान हुँदा खुबी लाग्यो’, गाहाले भने ।

स्थानीयबासिन्दा पूर्ण बहादुर गाहाले पहिला घैटामा पानी बोक्नुपर्ने बाध्यता रहेको बताए । रातिनै पानीका लागि कुँवा जानुपर्ने बाध्यता हटेकामा पूर्णबहादुरको परिवारमा खुशीको सीमा छैन । चौरटोलकी टुकीकुमारी गाहाले केटाकेटीलाई झोला, डोकोमा पानीका भाडा बोकाएर ल्याउनुपर्ने बाध्यता हटेको बताए ।

बालबालिका नियमितरुपमा विद्यालय जाने बाटो खुलेको गाहाको दाबी छ । पानीकै कारण बालबालिका स्कूल जानबाट बञ्चित रहेको स्थानीय बासिन्दाको भनाइ छ । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाभित्रकै दुर्गम क्षेत्रका रुपमा पालुंगलाई लिइन्छ । तर, पछिल्ला वर्ष सडक, खानेपानी र सञ्चारलगायतका क्षेत्रमा यहाँका स्थानीय बासिन्दाको पहुँच विस्तार हुँदै आएको स्थानीय बासिन्दा कृष्ण थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय