कावा खोलामा पक्की पुल निर्माण शुरु
मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित

भोजपुर, फागुन १३ : भोजपुर जिल्लाको दक्षिणी भेगमा अवस्थित कावा खोलामा मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डअन्तर्गत पर्ने सो खोलामा आगामी असार महिनामा सम्पन्न गर्ने गरी पक्की पुलको शिलान्यास गरिएको हो । स्विस सरकारको करीब पाँच करोड अनुदान लागतमा निर्माण गर्न लागिएको पुल ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ र एक दशमलब २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाइने स्थानीय सडक, पुल कार्यक्रमका प्रदेश १ संयोजक मंकेश्वर ठाकुरले जानकारी दिए ।

पुलको सिबिल निर्माण कार्यका लागि दुई करोड तीन लाख २४ हजार ३७१ मा कार्की बन्धु कन्स्ट्रक्सन कम्पनी विराटनगरले ठेक्का लिएको छ भने अन्य ट्रस जडानको कामका लागि अर्को कम्पनीसँग सम्झौता गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

केवल सपोर्टेड ट्रस, ओपन फाउन्डेशनको १ स्पानमा बन्ने पुलको दुवैपट्टि पक्की पिलर निर्माण गरिएपछि ट्रस जडान हुने कार्यालयको भनाइ छ । पुलको डिजाइन अवधि ८० वर्ष रहेको र भूकम्प प्रतिरोधी बन्ने निर्माण कम्पनीको भनाइ छ ।

प्रदेश सरकारले सो खोलामा पुल निर्माणका लागि काम गर्ने तयारी गरिरहेको भए पनि स्विस सरकारले पनि पक्की पुल निर्माणका लागि आर्थिक सहयोग गर्ने भएपछि मुख्यमन्त्री शेरधन राईको पहलमा पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । प्रमुख रेड्डीले भने, ‘हामीले प्रदेश सरकारअन्तर्गत पुल निर्माण गर्ने तयारीमा थियाँै तर स्विस सरकारले पनि आर्थिक सहयोग गर्ने जनाएपछि मुख्यमन्त्रीको पहलमा यसको काम अगाडि बढाएका हाै, यसलाई गुणस्तरीय ढंगले समयमा सम्पन्न गर्न हाम्रो कार्यालयले पनि भूमिका खेल्नेछ ।’

यो पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेछ । यस सडकखण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथांकासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाउने प्रदेश सरकारले जनाएको छ । यसका लागि उदयपुरको मैनामैनीसम्म बोलपत्र आह्वान प्रक्रिया सम्पन्न भई काम शुरु भएको छ भने त्यसयताको सडकको बोलपत्र आह्वान प्रक्रिया अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रेड्डीले जानकारी दिए । प्रमुख रेडडीले भने, ‘भोजपुरलाई तराईका जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो सडक हो, यसलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर कालोपत्रको काम शुरु गरेको छ, यसै अनुरूप उदयपुरको मैनामैनीसम्मको सडक कालोपत्रको प्रक्रियामा गएको छ भने दक्षिणबाट भोजपुर सदरमुकाम हुँदै किमाथांका जोड्ने सडक कालोपत्र गर्न बोलपत्र आह्वानको प्रक्रियामा छ ।’

भोजपुुरमा प्रदेश सरकारको पूर्ण लागतमा आठ र प्रदेश सरकारको पहलमा स्विस सरकारको अनुदान सहयोगमा दुई वटा गरी १० वटा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । पुल निर्माणको विषयमा आइतबार स्थानीयवासी तथा सरोकारवालाबीच सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भएसँगै भोजपुरको रामप्रसाद राई र हतुवागढी गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् । खोलामा पुल नहुँदा स्थानीयवासी जोखिम मोलेर यात्रा गर्दै आएका थिए ।

पुलको जिल्ला समन्वय समिति प्रमुख लक्षमण खड्का, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई र रामप्रसाद राई गाउँपालिका अध्यक्ष विजय राईले एकसाथ शिलान्यास गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय