झापाका दुई स्थानीय तहमा मकैजोन कार्यक्रम
मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित

सुरुंगा, फागुन १३ : झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएसँगै यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका हुन् ।

धानपछि झापामा धेरै क्षेत्रफलमा मकैखेती हुने गरेको छ । अझ सरकारले झापामा मकैजोन कार्यक्रम सञ्चालन गरेपछि मकैखेतीका लागि यहाँका कृषक थप उत्साहित बनेका छन् । उत्पादनका लागि उर्वरभूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकैजोन सञ्चालनका लागि चालू वर्ष संघीय सरकारबाट एक करोड २४ लाख ६५ हजार बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन एकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए ।

झापामा प्रत्येक वर्ष दुई लाख आठ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । झापामा वसन्ते मकै ३१ हजार हेक्टर, हिउँदे मकै आठ हजार हेक्टर र बर्खे मकै ९०० हेक्टरमा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ । उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यो समयमा उन्नत जात (हाइब्रिड) मकैखेती गर्दै आएका छन् । झापामा मकैजोन कार्यक्रम लागू भएपछि मकैखेती गर्ने कृषकको संख्या बढ्दो छ ।

झापा गाउँपालिकाको छ वडामा झण्डै ८० प्रतिशत क्षेत्रफलमा मकैखेती गरिएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । एक बिघा क्षेत्रफलमा यहाँका कृषकले एक लाखदेखि एक लाख ५० हजारसम्म मकै बेचेर आम्दानी गर्ने गरेको गाउँपालिका–३ निवासी देवकुमार गणेशले बताए । उनले भने, ‘अन्य बाली (गहुँ, तोरी, फापर, आलस) को तुलनामा मकैखेतीबाट धेरै आम्दानी हुने भएपछि म मात्रै होइन झापाका सबैजसो कृषक अहिले मकैखेती नै गर्छन् ।’

गणेशले पनि उन्नतजातको मकैखेती गर्नुभएको छ । उनले वर्णशंकर (हाइब्रिड) मकै लगाउनुभएको छ । विगत वर्षदेखि नै आफूले मकैखेती गर्दै आएको र गाउँपालिकाले अहिले कृषकलाई मकैखेतीका लागि प्रोत्साहन गरेपछि थप उत्साह मिलेको उनको भनाइ छ । सोही स्थानका गणितप्रसाद गणेशले पनि मकैखेती शुरु गरेको आठ÷दश वर्ष नै भयो । उनले पनि मकैखेतीबाटै मनग्य आम्दानी गर्दै आएका छन् । एक बिघामा १४० मन मकै उत्पादन हुने गरेको गणेशले बताए । उनले अहिले ‘छैसठ्ठी जिरो सात’ प्रजातिको हाइब्रिड (वर्णशंकर) मकैखेती गर्नुभएको छ । ‘स्थानीय प्रजातिको मकैमा भन्दा हाइब्रिड मकैखेतीमा राम्रो आम्दानी हुन्छ’, उनले भने, ‘एक बिघामा खर्च कटाएर पनि एक लाख नाफा हुन्छ ।’

धेरै क्षेत्रफलमा र व्यावसायिक मकैखेती गर्ने कृषकमध्मे पदम सुवेदी पनि एक हुन् । उनले अहिले तीन बिघा क्षेत्रफलमा मकैखेती गरिरहेका छन् । उन्नत जातको मकैको बीउ नेपालमा नपाइने र मकैको बीउ खरिदमा धेरै पैसा जाने भएकाले नेपालमै उन्नत जातको मकैको बीउ तयार गरेर कृषकलाई सरकारले उपलब्ध गराउने हो भने मकैखेती गर्ने कृषकले निराश बन्नुपर्ने अवस्था सिर्जना हुने थिएन । अहिले मकैको बीउ खरिदका लागि भारतीय बजारको भर पर्नु परेको उनको भनाइ छ ।

झापा गाउँपालिकाले कृषकका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै मकैखेतीका लागि प्रोत्साहन गरेको छ । यसबाट गाउँपालिकाका कृषकले अहिले तोरी र गहुँखेतीभन्दा धेरै क्षेत्रफलमा मकैखेती गरिरहेको गाउँपालिकाका अध्यक्ष साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय