विगतको भन्दा अस्पतालको सेवामा सुधार
बिहिबार, साउन ०४, २०८० मा प्रकाशित

बर्दिया, साउन ४ (फरकसमाचार) / बर्दिया अस्पतालको सामाजिक परिक्षणमा विगतको भन्दा अस्पतालको सेवामा सुधार हुँदै गएको देखिएको छ । गत वर्ष भन्दा यस वर्ष अस्पतालको सेवा र व्यवस्थापनको पक्षमा सुधार भएको देखिएको हो । सिमित स्रोत साधन बिच अस्पतालले विगतको भन्दा क्रमशःसेवा सुधार गर्दै गएको सामाजिक परिक्षण आम भेलाले निष्कर्ष निकालेको छ । मंगलबार आयोजित अस्पतालको सामाजिक परिक्षण आम भेला कार्यक्रममा अस्पतालले दिने सेवा क्रमशःसुधार भएको सहभागिहरुले भनाई राखेका छन् । अस्पतालले महिलाहरुको पाठेघरको अप्रेशन र इसिओ सेवा थपेको छ ।

गत वर्ष भन्दा यस वर्ष बिरामीको संख्या बढेको सामाजिक परिक्षण प्रतिवेदन देखाएको छ । सामाजिक परिक्षण प्रतिवेदन अनुसार गत वर्ष अस्पतालमा ९ हजार ३९ जना बिरामी आकस्मिक सेवा लिएका थिए भने यस वर्ष १० हजार ६ सय ७ जनाले सेवा लिएका छन् । त्यसैगरी गत वर्ष ९७ हजार ८ सय ९४ जनाले बहिरंग सेवा लिएका थिए भने यस वर्ष १ लाख १५ हजार ७ सय १८ जनाले सेवा लिएको रेकर्ड प्रस्तुत गरिएको छ । प्रतिवेदन अनुसार अस्पतालले दिने प्रत्येक सेवामा बिरामीहरुको संख्या गत वर्ष भन्दा क्रमशःबढेको छ ।

अस्पतालको सामाजिक परिक्षण कार्यक्रमको विस्तृत प्रस्तुति सुनौलो महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष ईन्दीरा सुबेदीले गरेकी थिईन् ।

सामाजिक परिक्षणमा अस्पतालको सकारात्मक पक्षमा विगतको भन्दा सेवा प्रर्वाहमा सुधार, विशेषज्ञ सेवा विस्तार, एसएनसियु वार्डमा भेन्टिलेटरसहितको सेवा व्यवस्थापन, फार्मेशी र अन्य सेवाको लागि अलग बिलिङ्ग काउन्टरको व्यवस्थापन, बिरामीलाई खाना खाने भाडाको व्यवस्थापन, नियमित परिवार नियोजन सेवा सुचारु र डायलोसिस सेवा विस्तारको लागि आवश्यक प्रक्रिया अघि बढिरहेको दर्शाइएको छ । त्यसैगरी अस्पतालको सुधारात्मक पक्षमा अस्पताल परिसर भित्र सुर्ती जन्य पदार्थ रोक्न, विशेषज्ञ डाक्टरसहितको दरबन्दी पुरा गर्न पहल गर्न, सेवाग्राहीहरु प्रति स्वास्थ्यकर्मीहरुको बोली व्यवहार सुधार गर्न, फार्मेसीबाट उपलब्ध हुने औषधीको छुट सबैले देखिने गरि सुचना टास्न र निशुल्क वितरण गरिने औषधीहरु सेवाग्राहीलाई सहज रुपमा उपलब्ध गराउन देखाईएको छ ।

अस्पतालको वस्तुस्थिती र अस्पतालले दिने सेवा सुविधाको बारेमा बर्दिया अस्पतालका मेसु डाक्टर सुभाष पाण्डेयले जानकारी गराएका थिए ।
अस्पतालको सामाजिक परिक्षण आम भेला कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद मालती सोडारी, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतम, अस्पतालका मेसु डा सुभाष पाण्डेयलगायत सेवाग्राहीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर