राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो
बुधबार, फागुन १४, २०७६ मा प्रकाशित

अछाम, फागुन १४ : अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् ।

राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना पुरुष रहेको कार्यालयले जनाएको छ । रास्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउनेमध्ये पुरुषको संख्या एक हजार १७१ ले बढी रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए । जिल्लामा गत असार २६ गतेदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता कार्य शुरु भएको थियो ।

यस जिल्लामा चालू आवको सात महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ६७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ श्रेष्ठले जानकारी दिए । यसमा एक हजार ५९७ जना पुरुष र एक हजार ८१ जना महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् । जिल्लाका विकट गाउँबाट सदरमुकाममा सेवा लिन आउन समस्या हुने भएकाले बेलाबेलामा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविरको आयोजनासमेत गर्ने गरेको छ । जिल्लाको तुर्माखाँद, ढकारी, रामारोशन, मेल्लेख गाउँपालिकाका विकट वडा, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका विकट बस्तीबाट सदरमुकाम पुगेर सेवा लिन नागरिकलाई खर्चिलो र समस्या हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर