गुलरिया छोटी भन्सार कार्यालयले सेवाग्रीसंग अतिरिक्त रकम असुल गरिरहेको खुलासा
शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित

बर्दिया,मंसिर ८(फरकसमाचार)/ गुलरिया छोटी भन्सार कार्यालयको मिलेमतोमा खटिएका कर्मचारीहरुले सेवाग्रीसंग लामो समय देखि अतिरिक्त रकम असुल गर्दै आएको खुलासा भएको छ । भन्सार कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीबाट खटिएका कर्मचारीले सेवाग्राहीहरुसंग खुलेआम अतिरिक्त रकम असुल गर्दै भेटिएको छ ।

भारतीय सवारी साधन नगरभित्र साँझ ५ बजेसम्म चलाउन निशुल्कमा पास लिएर आउन सकिने व्यवस्था रहेको भन्सारका कर्मचारीले जानकारी दिए । तर भन्सार कार्यालयमा पास लिन पुग्ने सेवाग्राहीसंग चिया नास्ताको बहानामा कर्मचारीले रु १० लिने गरेको सेवाग्राहीको गुनासो छ । त्यसैगरी भारतीय नंम्बर प्लेटको मोटरसाइकलको एक दिनको भन्सार गराउँदा रु २ सय लाग्छ । तर गुलरिया भन्सार कार्यालयमा खटाईएका कर्मचारीले २ सयको रसिद दिन्छन् तर खुलेआम २ सय ५० लिने गरेको पाइएको छ । त्यसैगरी सिमावर्ती क्षेत्रका नेपाली किसानले आफ्नै बारीमा उब्जाएको तरकारी बिक्री गर्न गुलरिया बजार ल्याउँदा भन्सारका कर्मचारीले रकम माग्नेलगायत विभिन्न किसिमले हैरानी दिने गरेको व्यापक गुनासो छ ।

यस्ता व्यापक गुनासो आएपछि फरकसमाचार संवाददाता बुधबार भन्सार कार्यालयमा रिपोटिङ्ग गर्न जाँदा गुनासो अनुसार नै काम भएको फेला परेको थियो । भारतीय मोटरसाईकलको भन्सार गराउँदा सत्य प्रकाशसंग भन्सारका कर्मचारीले रु २ सय ५० लिए तर रसिदमा रु २ सय मात्र लेखिएको रसिद दिएपछि सेवाग्राही व्यापक असुन्तुष्टि व्यक्त गरे ।

सेवाग्राही सत्य प्रकाशसंग रसिदमा २ सय मात्र लेखिएको छ २ सय ५० किन दिनुभयो भनेर बुझ्दा भन्सारका कर्मचारीले सधैं रु ५० बढी असुल्ने गरेको बताए । ‘के गर्ने हजुर जति मागे बुझाउँनै पर्छ’उनले भने,‘यस्तो बढी रकम असुल्नेसंग कसले सोधपुछ गर्ने ।’त्यसैगरी भारतको मिहीपुरवाबाट आएका अर्का सेवाग्राहीले पनि सधै रु ५० बढी बुझाउने गरेको जनाए ।

सोही विषयमा बुझ्न खोज्दा रकम उठाउने भन्सारका कर्मचारीले सुब्बा सरसंग कुरा गर्नु भनेर आफु बच्न खोजे । पटक पटक नाम के हो भनेर सोध्दा नाम पनि बताएनन् । सीमावर्तीमा अतिरिक्त रकम असुलिले देशकै बेज्जत हुने स्थानीयको भनाई छ । सीमाबाट पर्यटक आवागमन हुने हुँदा अतिरिक्त रकम असुलिले पर्यटन व्यवसाय धक्का पुग्ने अर्का सेवाग्राही बताउँछन् ।

आफु भर्खर सरुवा भएर आएकोले यस विषयमा नबोल्ने भन्सारका बासुराम चन्द्र भट्टले बताए । लाग्ने राजश्व भन्दा बढी रकम असुल गर्न नपाईने राजापुर भन्सार कार्यालयका प्रमुख धन बहादुर शाहीले बताए । ‘भन्सार कार्यालयमा एक जना भाई भोलेन्टियर रुपमा सेवा दिदै आएका छन्’प्रमुख शाहीले भने,‘सेवाग्राहीले आफुखुसी दिएर रकम राखिरहेको जानकारी थियो ।’तर विवादित काम गर्न आफुले नभनेको प्रमुख शाहीले सुनाए । बढी रकम लिएको विषयमा आफुले बुझेर आवश्यक कारवाही गर्ने प्रमुख शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय